२०८३ बैशाख १३ गते , आईतबार

दुर्गा प्रसाईँले बनाइदिए मोहनमाया विद्यालयलाई ४ करोडमा १२ कोठे भवन

sajilo news
झापा
२०८० असार २२ गते , शुक्रबार
दुर्गा प्रसाईँले बनाइदिए मोहनमाया विद्यालयलाई ४ करोडमा १२ कोठे भवन

बिर्तामोड । बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले निर्माण गरेको बिर्तामोडको मोहनमाया माविको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रसाईँले बनाइदिएको करिब साढे ४ करोड रुपैयाँको विद्यालय भवन एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

कक्षा कोठा अभाव भएपछि बिर्तामोड २ रामचोकमा रहेको सो विद्यालयले दुई वटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, प्रसाईँले १२ कोठे विद्यालय भवन नै बनाइदिएका हुन् ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कक्षा कोठा नभएर विद्यार्थीलाई समस्या भइरहेका बेला दाता प्रसाईँले गरेको सहयोग अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

दुई वर्षअगाडिको कुरा सम्झँदै उनले भने, ‘विशेष कक्षाको लागि हामीले दुई वटा कोठाको प्रस्ताव गरेका थियौँ, उहाँले विद्यालयमा आएर समस्या हेर्नुभयो अनि विद्यालय भवन नै बनाइदिने वचन दिनुभयो ।’

प्रसाईँले भवन बनाइदिएपछि अध्ययन अध्यापनमा सहयोग पुगेको उनको भनाइ छ । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्यान्सर हस्पिटलका सञ्चालकसमेत रहेका प्रसाईँले सुस्त मनस्थितिका विद्यार्थीहरू पानीमा भिजेर पढ्दै गरेको देखेपछि आफूले विद्यालय भवन नै बनाइदिने अठोट गरेको सुनाए ।

उनले आफूहरूको सहयोगले अर्काको भविष्य बनियोस् भनेर दानको रुपमा नभई विद्यालय भवन बनाइदिएर कर्तव्य पूरा गरेको बताए । उनले आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद प्रसाईँको स्मृतिमा सो भवन बनाइदिएका हुन् ।

कार्यक्रममा दाता प्रसाईँ र उनको परिवारलाई अभिनन्दन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अनिता कार्की बस्नेतले गरेकी थिइन् ।
प्रसाईँले अर्जुनधाराको सिस्नेमा रहेको सिंहदेवी माविलाई पनि त्यस्तै विद्यालय भवन बनाइदिएका छन् । सिंहदेवी माविले पनि प्रसाईँसँग खानेपानीको ट्याङ्की निर्माण गरिदिन आग्रह गरेको थियो तर उनले त्यहाँ पनि करोडौँको विद्यालय भवन नै बनाइदिए ।

‘विद्यालयमा गएर हेर्दा विद्यार्थीहरूले पानी खान नपाइरहेको समस्या देखेर दुःख लाग्यो’, उनले आफ्नो विगतसँग तुलना गर्दै भने, ‘म विद्यालय पढ्दा अरूको घरमा गएर पानी खान्थेँ, त्यही अवस्था सिंहदेवी माविमा देखेँ ।’

आफूले सिंहदेवी माविमा खानेपानी ट्याङ्कीसहित विद्यालय भवन बनाइदिएको र केही दिनपछि त्यसलाई हस्तान्तरण गरिने जानकारी दिए ।

सम्बन्धित समाचार