२०८३ बैशाख १३ गते , आईतबार

'बालमैत्री भद्रपुर नगर’मा बेवास्ता व्यहोरिरहेको विद्यालय

sajilo news
झापा
२०८० असार २३ गते , शनिबार
'बालमैत्री भद्रपुर नगर’मा बेवास्ता व्यहोरिरहेको विद्यालय

भद्रपुर । भद्रपुर नगरपालिका– ८ का विद्यार्थीहरू वडा नम्बर ९ को बाटो भएर वडा नम्बर १० मा पर्ने डाँगीबारीस्थित श्री कृष्ण आधारभूत विद्यालयमा पढ्न जान्छन् । हाल ५९ जना बालबालिका सो सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यसमध्ये ९५ प्रतिशत बालबालिका विपन्न आदिवासी सन्थाल समुदायका छन् ।

गाउँ–नगरमा सिंहदरबार आयो भनिन्छ । अझ भद्रपुर नगरपालिकालाई त २०७७ सालको मङ्सिर ७ गते नै ‘बालमैत्री नगरपालिका’ समेत घोषणा गरिसकिएको छ । तर, यही बालमैत्री नगरपालिका क्षेत्रको सो विद्यालयमा पढ्न जाने बालबालिकाहरू फाटेका र च्यात्तिएका लुगा लाएर चप्पलै बेगर विद्यालय पुग्ने गर्दछन् । उनीहरूका निम्ति किताब, कपी, पेन्सिल, ब्याग लगायतका अत्यावश्यक शैक्षिक सामग्रीको अभाव त छँदैछ ।  

विडम्बना कस्तोसम्म छ भने, विद्यालय जाने बाटो वर्षादमा हिलाम्मे हुन्छ । तर, न वडा नं– ९ मा पर्ने सो बाटोमा ९ नं वडा कार्यालयले ग्राभेलसम्म गरिदिन्छ, न त आफ्नै वडाका विद्यार्थीहरू पढ्न जाने ८ नं वडा कार्यालयले नै हिलो पुरिने गरी बाटोमा गिटी–बालुवा हालिदिन्छ १ न त आफ्नो वडामा सञ्चालित विद्यालय पुग्ने उक्त हिले बाटोमा १० नं वडा कार्यालयले पूरपार गरेर हिँड्न लायक बनाइदिन्छ १ ती ३ वटै वडा कार्यालयहरूले विपन्न समुदायका बालबालिका पढ्ने सो विद्यालयलाई वर्षौँदेखि बेवास्ता गरिरहेको देखिन्छ ।

विद्यालयको भौतिक संरचना जीर्णोद्धार गर्नुपर्ने अवस्थामा छन् । गत वर्ष भद्रपुर नगरपालिकाको सहयोगमा विद्यालयको तर्फबाट व्यहोरिएको २० प्रतिशत लागत सहभागिता सहित करिब ३ लाख ८७ हजार रुपैयाँको लागतमा उक्त ७ कोठे विद्यालय भवनको ४ वटा कोठामा नयाँ जस्तापाताको छाना हालिएको छ भने ३ वटा कोठाको छाना पनि फेर्नै पर्ने अवस्थामा रहेको प्रधानाध्यापक गोकुलराज न्यौपानेले बताए।

बाल विकास कक्षा कोठामा पनि बालबालिकाका निम्ति सिकाइका नगण्य पूर्वाधार छन् । सिमेण्टेड भुईँमा ओछ्याउन ‘बालमैत्री नगर’ घोषणा भएको अढाई वर्ष गुज्रिँदासम्म नगरपालिकाले कार्पेटसम्म उपलब्ध गराएको छैन । बालबालिकालाई शिक्षण सिकाइका लागि आवश्यक अन्य सामग्रीहरू पनि कक्षाकोठामा छैनन् । सबै कक्षाकोठाहरू जीर्ण छन् । भित्ताका प्लास्टर उप्किएका छन् । झ्याल–ढोकाका चौखट मक्काएका छन्, धमिरा लागेका छन् ।

यस्तै अभाव र बेवास्ताबाट गुज्रिरहेको सो विद्यालयका विद्यार्थीहरूका लागि सगरमाथा सामुदायिक सिकाइ केन्द्र, भद्रपुर– ८ ले शैक्षिक सामग्रीहरू प्रदान गरेको छ । केन्द्रले १० हजार रुपैयाँ बराबरको कपी पेन्सिल कटर इरेजर तथा एउटा साउन्ड सिस्टम समेत विद्यालयलाई उपलब्ध गराएको हो ।

विद्यालय परिसरमा यही असार २१ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर–प्रमुख गणेश पोखरेल र केन्द्रका अध्यक्ष तोया गड्तौलाले संयुक्त रुपमा प्रधानाध्यापक न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरज पोखरेललाई ती सामग्रीहरू हस्तान्तरण गरेका थिए ।      

गत २०६२ सालमा कृष्णप्रसाद पोखरेलको स्मृतिमा उनकी धर्मपत्नी भीमकुमारी पोखरेलले ५ कट्ठा जग्गा दान गरेपछि निर्मित अस्थायी भवनमा सोही वर्ष बाल विकास कक्षा सञ्चालन भएको सो विद्यालयमा २०६४ सालबाट प्राथमिक तहको पठनपाठन शुरु भएको दाता परिवारका भरत पोखरेल ‘खार्पाली’ले जानकारी दिए । 

सम्बन्धित समाचार