२०८३ बैशाख १३ गते , आईतबार

आदर्श क्याम्पसले भन्यो- त्रिविले नवीकरण अद्यावधिक नगरी क्याम्पसको नाममा गलत प्रचार गर्‍यो

sajilo news
झापा
२०८० असार २९ गते , शुक्रबार
आदर्श क्याम्पसले भन्यो- त्रिविले नवीकरण अद्यावधिक नगरी क्याम्पसको नाममा गलत प्रचार गर्‍यो

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजी प्रक्रियाको सूचिमा झापाको कनकाई नगरपालिका- ९ स्थित आदर्श सामुदायिक क्याम्पसको नाम समावेश गरेपछि क्याम्पस प्रशासनले आपत्ति जनाएको छ । त्रिविले सम्बन्धन खारेजी प्रक्रिया थालेको भन्दै प्रकाशन गरेको १७५ क्याम्पसको सूचिमा आदर्श सामुदायिक क्याम्पसको नाम पनि उल्लेख गरेको थियो ।

आदर्शको नामसहित टाइम्स अफ प्रदेशमा समाचार प्रकाशन भएपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष जयप्रसाद उप्रेती र निमित्त क्याम्पस प्रमुख वीरबहादुर अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिविमा २०७९ पुस ११ गते नवीकरण गरिसकेको जानकारी गराएको छ । क्याम्पसको विज्ञप्तिमा भनिएको छ, 'सञ्चारमाध्यममा समाचार आएपछि क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको थियो । त्रिवि व्यवस्थापन सङ्काय डिनको कार्यालय काठमाडौँले सिस्टम अद्यावधिक नगरी नवीकरण नभएका क्याम्पसहरूको सूचि राखी सूचना प्रकाशन गरेकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।'

क्याम्पसले मिति २०७९ मङ्सिर २९ गते त्रिविबाट क्याम्पस नवीकरणको प्रक्रियामा रहेको पत्र प्राप्त भई मिति २०७९ पुस ११ गते नवीकरण शुल्क भुक्तानी गरी सकेकोमा हाल सम्बन्धित निकायमा सम्पर्क गर्दा भुलवश क्याम्पस नवीकरण अद्यावधिक नभएको भनी जवाफ आएकोले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको भनिएको छ ।  आदर्शको नवीकरण भइसकेकोले अब झापाका तीनसहित १७४ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रियामा त्रिवि रहेको बुझिएको छ । यसअघि पटक पटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले झापा भद्रपुरका एमरेल्ड एकाडेमी कलेज, बिर्तामोडका कञ्चनजङ्घा नमुना कलेज, बिर्तामोड चारपानेका प्रोभिडेन्स कलेजसहित ती क्याम्पसहरूको सम्बन्धन खारेजी प्रक्रिया थालेको छ ।

सम्बन्धित समाचार