२०८३ बैशाख १३ गते , आईतबार

बिर्तामोडको देवी माविलाई ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड'

sajilo news
झापा
२०८० श्रावण १ गते , सोमबार
बिर्तामोडको देवी माविलाई ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड'

काठमाडौँमा मुख्य कार्यालय रहेको अनलाइन न्युज पोर्टल केन्द्रबिन्दु डट कम प्रालिले बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयलाई  ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड विशेष शैक्षिक सम्मान’बाट  सम्मान गरेको छ ।

यही असार ३१ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच देवी माविसहित देशभरका २२  वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको देवी मावि बिर्तामोडका प्रअ अम्बिका श्रेष्ठले जानकारी दिए। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किएको आम धारणालाई चिर्दै उच्चतम शैक्षिक प्रतिफल प्राप्त गर्न सफल विद्यालयको रुपमा देवी माविलाई सम्मान गरिएको हो ।

विद्यालयका शिक्षक उमेश शाहका अनुसार राष्ट्रिय परीक्षा बोर्डको प्रतिवेदन, नतिजा विश्लेषण, शिक्षाविद्को सुझाव, अध्ययन–अध्यापनको वातावरण, भौतिक पूर्वाधारको अवस्था, विद्यालयमा भर्ना दर, शैक्षिक गुणस्तर लगायतका आधारमा उक्त मिडियाले सामुदायिक विद्यालयहरूलाई सम्मान गर्दै आएको छ ।

झापाका सामुदायिक विद्यालयमध्ये शैक्षिक गुणस्तरका हिसाबले निक्कै अग्रस्थानमा गनिने देवी माविमा हाल तीन हजार आठ सय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष् वनले जानकारी दिए । शैक्षिक गुणस्तर बढेसँगै विद्यार्थीको आकर्षण बढेपछि उक्त विद्यालयमा विद्यार्थी भर्नाका लागि इन्ट्रान्स परीक्षा समेत लिइँदै आएको छ ।

विद्यालयमा प्रविधिको प्रयोगमार्फत पनि शिक्षा दिइँदै आएको अध्यक्ष वनले बताए । उनका अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति आएपछि विद्यालयमा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने चारतले भवन निर्माणाधीन छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि मासिक रुपमा परीक्षा लिई विद्यार्थीहरूको कमीकमजोरी सुधार गर्ने गरिएको अध्यक्ष वनले जानकारी दिए ।

साइन्स ल्याब, कम्प्युटर शिक्षा लगायतका प्राविधिक शिक्षा समेत दिइँदै आएको विद्यालयले एसइईमा पनि उत्कृष्ट नतिजा हात पार्दै आएको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य, नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा शिक्षाविद् विद्यानाथ कोइराला लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका चार विद्यालयहरू सम्मानित भएका थिए । जसमध्ये देवी मावि बिर्तामोड, पोखरिया मा वि मोरङ, पब्लिक मावि धरान, बरूणेश्वर मावि ओखलढुङ्गा रहेका छन् । 

सम्बन्धित समाचार