सामुदायिक सरह सुविधा दिन निजी विद्यालयलाई फिदिम नगरको निर्देशन
फिदिम । पाँचथरको फिदिम नगरपालिकाले निजी विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक ९सरकारी० विद्यालयसरह सुविधा दिन निर्देशन दिएको छ।
निजी विद्यालयमा सरकारी विद्यालयभन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै निजी विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सरकारी विद्यालयसरह सुविधा दिनुपर्ने व्यवस्था छ। उक्त उपनियमले तलब स्केल, दशैँ खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सरकारी विद्यालयसरह हुनुपर्ने व्यवस्था गरेको छ।
सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्टयाइ सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका दुई जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएका हुन्।