सरकारको प्रतिबद्धतापछि निजी विद्यालयको आन्दोलन स्थगित
निजी विद्यालयका समस्याहरू समाधान गर्ने सरकारले प्रतिबद्धता जनाएको भन्दै आन्दोलनरत पक्षले हालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । निजी लगानीमा सञ्चालित विद्यालयहरूका छाता सङ्गठनहरू प्याब्सन, हिसान, नेसनल प्याब्सनले शुक्रवार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।
आन्दोलनकै क्रममा शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को विशेष निर्देशनमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, शिक्षा सचिव सुरेश अधिकारी, कानुन सचिव उदयराज सापकोटा, रक्षा सचिव किरणराज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा सहितको उपस्थितिमा सरोकारवाला पक्षका तर्फबाट प्याब्सन अध्यक्ष डीके ढुङ्गाना, हिसान अध्यक्ष रमेश सिलवाल, नेसनल प्याब्सन अध्यक्ष पाण्डव हमाल, प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पुरी तथा प्याब्सन महासचिव आरबी कट्वालहरूबीच वार्ता सम्पन्न भएको थियो ।
वार्ताका क्रममा आन्दोलनरत पक्षद्वारा प्रस्तुत गरेका विषयहरूमा तत्काल सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट प्रतिबद्धता जाहेर भएको छ । सरकारको तर्फबाट भएको प्रतिबद्धता र सकारात्मक पहल हाललाई पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको विज्ञप्ति जारी गरी जानकारी गराइएको छ ।
सरोकारवाला सङ्घ/संस्थाहरूसँग समेत छलफल गरी नेपाल सरकार मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक २०८० का सन्दर्भमा निजी विद्यालयहरूसँग सम्बन्धित सरोकारका विषयहरूमा पर्न आएका समस्याहरूको संशोधन गर्न माग गर्दै आन्दोलनका कार्यक्रमहरू गरिरहेका थिए ।