भद्रपुरमा आधारभूत तहका विद्यार्थीलाई निःशुल्क तयारी पोसाक वितरण
भद्रपुर । भद्रपुर नगरपालिकाले आधारभूत तहका विद्यार्थीलाई निःशुल्क तयारी पोसाक वितरण अभियानको सुरुवात गरेको छ । नगर शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार भद्रपुर- १ स्थित हिमाली माविमा एक कार्यक्रमको आयोजना गरी नगरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क तयारी पोसाक वितरण गर्ने कार्यक्रमको शुभारम्भ गरेको हो ।
नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले हिमाली माविका आधारभूत तहका विद्यार्थीलाई पोसाक वितरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । आज पहिलो चरणमा हिमालीसहित दीपक प्रावि, श्री आधारभूत विद्यालय, श्री प्राविका ४०० विद्यार्थीलाई पोसाक वितरण गरिएको जनाइएको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नगरभित्र रहेका ३१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण कार्यक्रम राखेको थियो । नगरभित्रका सबै सामुदायिक विद्यालयका २४ सय ५६ जना विद्यार्थीलाई निःशुल्क पोसाक वितरण गरिने नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले बताए ।
नगरबाट पहिलो पटक ल्याएको कार्यक्रम नगर भित्रका सामुदायिक विद्यालयमा तीन हप्ता भित्र पोसाक वितरण गरिसक्ने उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले सामुदायिक विद्यार्थीको पोसाकमा एक रुपतासँगै यस कार्यक्रमले निम्न वर्गका विद्यार्थीलाई विद्यालय आउन थप आत्मबल मिल्ने बताए ।
पहिलो कार्यकालमा शिक्षामा १ करोड बजेट छुट्टाइएकोमा चालु आर्थिक वर्षमा अनुमानित ३ करोड बजेट छुट्टाइएको बताउँदै उनले भने 'सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका कार्यक्रमहरू ल्याउँदै अनुगमनलाई समेत प्रभावकारी बनाउने अभियानमा लागेका छौँ ।' कार्यक्रममा नगर उपप्रमुख कार्की, सामाजिक विकास समितिका संयोजक सिता गुरागाईँ, लगायतकाले बोलेका थिए । स्वागत मन्तव्य हिमाली माविका प्रधानाध्यापक दीपक दाहालले राखेको कार्यक्रमको सञ्चालन शिक्षक विशाल थेबेले गरेका थिए ।