२०८३ बैशाख ७ गते , सोमबार

मेचीनगरका विद्यालयमा विद्यार्थी बेहोस भएर ढलेपछि....

sajilo news
झापा
२०८० भाद्र ४ गते , सोमबार
मेचीनगरका विद्यालयमा विद्यार्थी बेहोस भएर ढलेपछि....

मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोली लिएर विद्यालय पुगेका छन् ।

केही दिन अघिदेखि काँकडभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एक दुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययनरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समेत केही समस्या भएको प्रअ हरि न्यौपानेले बताए ।

दिउँसो कक्षा चलिरहेका बेला कक्षा ७ का विद्यार्थी बेहोस भएर ढलेका हुन् । विद्यार्थीहरू चिच्याउने, काम्ने, र बेहोस हुन थालेसँगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुगेका थिए । उनले आफूसँगै जनप्रतिनिधि र मेचीनगरका स्वास्थ्यकर्मी सबै विद्यार्थीकै साथमा रहेको बताउँदै नअत्ताली  आफ्नो आत्मबल उच्च राख्न सुझाए ।

उनीहरूलाई गर्मी र मास हिस्टेरीको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले विद्यार्थीको अवस्था सामान्य रहेको जानकारी दिइन् । मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायत स्वास्थ्यकर्मीले विद्यार्थीलाई आत्मबल बढाउन सचेतना दिएका थिए ।

सम्बन्धित समाचार