सरकार र आन्दोलनरत शिक्षकबीचको वार्तामा जुटेन सहमति
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शुक्रबार पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयमा बिहीबार भएको वार्ता टुंगोमा नपुगेपछि शुक्रबार बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको हो । वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले गरेका थिए । महासंघ तर्फबाट भने अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मी किशोर सुवेदीले वार्तामा नेतृत्व गर्नेछन् ।
‘आज अनौपचारिक वार्ता भएको हो । आजै शिक्षा मन्त्रालयले औपचारिक वार्ताका लागि पत्राचार गरेपछि शुक्रबार फेरि वार्ता हुन्छ,’ वार्तामा सहभागी गृह मन्त्रालय स्रोतले भन्यो,’ त्यो वार्ता समितिको निष्कर्ष मन्त्रीहरू सम्मिलित उच्चस्तरीय सरकारी टोलीमा पेस गरेर अन्तिम रूप दिइनेछ ।’
सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरू थिए ।यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मी किशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए ।
विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलनरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।