बिर्तामोडका तीन जना उत्कृष्ट शिक्षक पुरस्कृत
बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा स्थापित रु ५० हजार राशिको उत्कृष्ट शिक्षक पुरस्कार तीन जना शिक्षकलाई प्रदान गरिएको छ । माध्यमिक तहतर्फ दुर्गा माध्यमिक विद्यालय गरामनीका लक्ष्मण सिवाकोटी, आधारभूत तहतर्फ मोहनमाया मावि चारपानेका भेषराज चौलागाई र प्राथमिक तहतर्फ जनता प्रा। वि। गरामनीका डिल्लीरमण भट्टराई उत्कृष्ट भएका हुन्। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले सो पुरस्कार प्रदान गरेकी थिइन् । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकमध्ये उत्कृष्ट तीन जनालाई पुरस्कृत गरेको हो ।
पालिकाले कक्षा ५ सम्मका एक जना, कक्षा ६ देखि ८ सम्मको एक जना र कक्षा ९ देखि १२ सम्म अध्यापनरत एक जना गरी तीन जना शिक्षकलाई पुरस्कृत गरेको शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रत्येक शिक्षकलाई पचास हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ । पालिकाले शिक्षकहरूबाट आवेदन माग गरेको थियो । प्राप्त आवेदनहरू मध्येबाट तीन जना उत्कृष्ट शिक्षक छनौट गरिएको उनले बताए । पालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि उमानाथ ओली, इन्द्र मुखिया र युवराज पाण्डे सम्मिलित समिति निर्माण गरेको थियो ।