नेपालका पवित्र नदीको जलबाट अयोध्यामा रामको जलाभिषेक गरिने
काठमाडौं । भारतरको उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राण प्रतिष्ठानमा हुने जलाभिषेक कार्यक्रमका लागि नेपालका विभिन्न नदीहरूबाट जल संकलन गरिएको छ । नेपालका पवित्र बाग्मती, नारायणी, दूधमती, कालिगण्डकी, कोशी, कमला, देवघाट आदि नदीको जल भगवान् रामको प्राण प्रतिष्ठाको समय पूजा विधिमा उपयोग गरिन्छ ।
जसका लागि २ सय ५० लिटर जल संकलन गरिएको बताइएको छ । संकलित जललाई पित्तलको कलशमा राखिएको छ । खुला ट्रकको रथबाट त्यसलाई लैजाने तयारी गरिएको छ । जसका कारण बाटोमा कलशको दर्शन गर्न सकिनेछ । २२ जनवरीमा हुने प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर रामको ससुराली जनकपुरधाममा पनि उत्सवको माहोल बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो कार्यक्रममा उपस्थिति हुनेछन् ।
दसकौंको प्रतीक्षा र लामो कानुनी लडाइँपछि उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको बताइएको छ । २०२० अगस्टमा भारतीय प्रधानमन्त्री मोदीले अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए । राम मन्दिर निर्माणलाई भारतीय जनता पार्टीले चुनावी एजेन्डासमेत बनाएको छ । जसका कारण यस विवादमा नेपाल पर्न नहुने अभिव्यक्ति सार्वजनिकसमेत भएका छन् ।
त्यसैगरी, नेपालबाट अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि विभिन्न प्रकारका आभूषण, भाँडा, कपडा र मिठाई उपहारस्वरूप पठाउने तयारी गरिएको छ । तथापि, यस विषयमा दुई महन्तबीचको विवादले त्यो कार्यक्रम अनिश्चित बनेको छ । यी वस्तु पठाउन जनकपुरधामदेखि अयोध्याधाम यात्रा आयोजना गरिएको छ । जानकी मन्दिरका संयुक्त महन्त रामरोशन दास वैष्णवले १८ जनवरीबाट जनकपुरबाट यात्रा सुरु गरिने र २० जनवरीमा अयोध्या पुग्ने कार्यक्रम रहेको बताएका थिए ।
मन्दिका मुख्य महन्थ राम तपेश्वर दास वैष्णवले आइतबार पत्रकार सम्मेलन गरेर उपहार पठाउने विषयमा निश्चित नभएको अभिव्यक्ति दिएका छन् । दुई महन्तबीचको विवादले उपहार पठाउने वा नपठाउने भन्ने विषय अन्योल बनेको देखिन्छ । अयोध्या र जनकपुरको ऐतिहासिक सम्बन्ध रहेकाले यसलाई विवादित बनाउन नहुने अभिव्यक्ति आएको छ ।
जनकपुरधामबाट आरम्भ हुने यात्रा जलेश्वर नाथ, मलंगवा, सिमरौनगढ, गढीमाई हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै उत्तर प्रदेश अयोध्या पुग्ने योजना छ । यसअघि नेपालको कालिगण्डकी नदी किनाराबाट शालिग्रामको ढुंगा भगवान् रामको मूर्ति बनाउन अयोध्या लगिएको थियो । त्यसलाई पनि उद्घाटनको दिन मन्दिरमा स्थापित गरिनेछ । जानकी मन्दिरका महन्थलाई पनि २२ जनवरीमा हुने प्राण प्रतिष्ठा समारोहमा सहभागी हुने निमन्त्रणा प्राप्त भएको बताइएको छ ।
अयोध्यामा राम मन्दिरको अभिषेक हुनुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन मन्दिरको समयसमयमा स्थलगत निरीक्षण गरिरहेका छन् । वाराणसीका वैदिक पुजारी लक्ष्मीकान्त दीक्षितले २२ जनवरीमा रामल्ललाको अभिषेक समारोहको मुख्य अनुष्ठान गर्नेछन् । १४ देखि २२ जनवरीसम्म अयोध्यामा अमृत महोत्सव मनाइने उल्लेख छ ।
साथै, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले राजनीतिक नेतालाई २२ जनवरीका लागि निमन्त्रणा गरेपछि कतिपयले अस्वीकार गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले मुलुकको संविधानसँग मेल नखाने धार्मिक आस्थाको सीधा राजनीतीकरण भएको आरोप लगाएको छ । वामपन्थी दल सीपीआई र सीपीआईएमले पनि निमन्त्रणा अस्वीकार गरेको छ ।
तथापि, सो समारोहमा प्रधानमन्त्री मोदीसहित विभिन्न सम्प्रदायका ४ हजार सन्तको उपस्थिति रहने अनुमान छ । सीपीआई एमका नेता वृन्दा करात र महासचिव सीताराम यचुरीले पार्टीले धार्मिक आस्थाको सम्मान गर्ने तर समारोहमा उपस्थित नहुने बताए । कांग्रेस पार्टीले भने कार्यक्रममा सहभागी हुने नहुने विषयमा स्पष्ट पारेको छैन । ७१ एकड जग्गामा फैलिएको राम मन्दिरको भुइँ तलामा रामल्ललाको मूर्ति राखिनेछ । जसले मन्दिरको इतिहासमा नयाँ अध्याय सुरु गर्ने बताइएको छ ।
३१ वर्षअघि दक्षिणपन्थी हिन्दू भीडले सो स्थानमा बाबरी मस्जिद भत्काइदिएको थियो । जसले राष्ट्रव्यापी धार्मिक दंगाा भयो । २ हजार बढी मानिसको ज्यान गएको थियो । भारतका पूर्वराष्ट्रपति डा. केआर नारायणननले यसलाई महात्मा गान्धीको हत्यापछिको सबैभन्दा ठूलो त्रासदीको संज्ञा दिएका थिए । बीजेपीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणीसहित मस्जिद भत्काएको मुद्दामा मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती पनि अभियुक्त थिए ।
विशेष केन्द्रीय अुनसन्धान ब्युरो अदालतले सन् २०२० मा ३२ जनालाई सफाइ दिएको थियो । यस क्षेत्रमा द्वन्द्वको बीउ १६औं शताब्दीमा रोपिएको देखिन्छ । मुगल सम्राट बाबरको नेतृत्वमा मिरबाकीले अयोध्यामा बाबरी मस्जिद बनाएका थिए । सोही शताब्दीमा मुस्लिम आक्रमणकारीले भत्काएको हिन्दू मन्दिरको भग्नावशेषमा मस्जिद निर्माण गरिएको विश्वासपछि विवादास्पद मुद्दा उत्पन्न भयो । विवाद वर्षांैसम्म कायम थियो ।
सन् २०१९ मा अदालतले विवादित जग्गा हिन्दूहरूलाई भगवान् रामको मन्दिर बनाउन दिनुपर्ने फैसला गरेको थियो भने मुस्लिम समुदायलाई मस्जिद बनाउन अन्यत्र जग्गा छुट्याइएको थियो । सो फैसलाले बाबरी मस्जिद भत्काउनु कानुनी शासनविरुद्ध भएको पनि उल्लेख गरेको थियो ।
त्यतिबेला धर्मनिरपेक्ष भारतको पतन भएको आलोचना गरिएको थियो । अयोध्याको राममन्दिर भारतीय जनता पार्टीका लागि प्रमुख चुनावी मुद्दा बनेको छ । आजको राजधानी दैनिकमा खबर छ ।