२०८३ बैशाख १५ गते , मंगलबार

कुवेतमा अलपत्र नेपाली भन्छन्- कुनै पनि बेला लाइसेन्स र सिभिल आईडी खोसिन सक्छ

sajilo news
पत्रपत्रिका
२०८० पौष १६ गते , सोमबार
कुवेतमा अलपत्र नेपाली भन्छन्- कुनै पनि बेला लाइसेन्स र सिभिल आईडी खोसिन सक्छ

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेर अलपत्र २५ नेपाली युवाले आफूहरूलाई कुनै पनि बेला ड्राइभिङ लाइसेन्स र सिभिल आईडी खोसेर कम्पनीले कोठाबाट निकाल्न सक्ने भन्दै उद्धारको माग गरेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत कुवेतको तावासेल कम फम कम्पनीमा ३ देखि ५ महिनाअघि पुगेका उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले सम्झौतानुसार काम र तलब नपाउँदा अलपत्र अवस्थामा रहेका छन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँ तिरेर कुवेत पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको केही दिनअघि मात्र खुलासा भएको थियो । उनीहरूले आफूहरू अलपत्र परेको भनेर एक भिडियो सार्वजनिक गरेका थिए । समस्यामा परेको भिडियो बाहिरिएपछि कम्पनीले विभिन्न दबाब दिएकाले आफूहरू यस कम्पनीमा काम गर्न नसक्ने अवस्थामा पुगेको उनीहरूले बताएका छन् ।

उनीहरूले वैदेशिक रोजगार विभाग काठमाडौंलाई लेखेको निवेदनमा भनिएको छ, ‘हामी आएको करिब पाँच महिना भयो, सम्झौतानुसारको केही पाएनौं, हामी चाँडोभन्दा चाँडो स्वदेश फिर्ता हुन चाहन्छौं, हामीलाई यहाँको कम्पनीले कुनै पनि बेला ड्राइभिङ लाइसेन्स र सिभिल आईडी खोसेर कोठाबाट निकाल्न सक्ने अवस्था रहेको छ ।’ आफूहरूको पासपोर्टलगायतका सम्पूर्ण कागजात कम्पनीले लिएकाले आवश्यक व्यवस्था मिलाई यथाशिघ्र उद्धार गरी गराइपाउन उनीहरूले माग गरेका छन् ।

आफूहरूले म्यानपावर र कम्पनीबीच भएको श्रम सम्झौतानुसार बेसिक मासिक पारिश्रमिक १ सय ४० कुवेती दिनर, दैनिक समय ८ घण्टा, सातामा ६ दिन खान बस्न र मेडिकल सुविधा कम्पनीले नै दिनेगरी सम्झौता गरेको उनीहरूको भनाइ छ । आफूहरू कुवेत पुगेपछि कम्पनीले आन्तरिक सम्झौता भन्दै दैनिक ४ सय ५० ट्रिप डेलिभरी अनिवार्य पूरा गर्नुपर्ने, सोबापत मासिक १ सय २० केडी पारिश्रमिक दिने ट्रिप पूरा नगरे शून्य दशमलव ४ फिल्सका दरले पारिश्रमिकमा कट्टा गर्ने, मासिक दुई दिनभन्दा बिदा नपाउने, दैनिक १२ देखि १६ घण्टा अनिवार्य काम गर्नुपर्ने, खाना सुविधा नपाउनेलगायत श्रम शोषण गरेकाले उद्धारका लागि हारगुहार गरेको उनीहरूले बताएका छन् ।

यस्तै, मेडिकल सुविधा नपाउने, दुई वर्ष करार अवधि भनेकामा तीन वर्ष काम गर्नुपर्ने, सवारी दुर्घटना भएमा क्षतिपूर्ति नपाउने, आफैंले बेहोर्नुपर्ने र लाइसेन्स तथा सिभिल आईडीको २ सय ८० केडी काम गरेकोबाट कटाउने भनी नेपालबाट सम्झौता गरी आएको भन्दा फरक रहेकाले आफूहरू यहाँ काम गर्नसक्ने अवस्था नरहेकाले उद्धारका लागि अपिल गरिएको उनीहरूले बताएका छन् ।

करिब दुई महिनाअघि पनि ११ जना नेपाली त्यहाँस्थित नेपाली दूतावास पुगेर चार दिन बसेर छलफल गरेर सम्झौतानुसारको काम र तलब सुविधा दिलाउने र समस्या समाधान नभए पुनः आउने भनेको तर अहिलेसम्म पनि कुनै सुनवाइ नभएको उनीहरूले बताएका छन् ।

केही दिनअघि मात्र कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले पीडितहरूको समस्या समाधान गर्न श्रम सहचारी लागिरहेको र दूतावासको पनि ध्यानाकर्षण भएको बताए पनि अहिलेसम्म केही नभएको पीडित जीवनकुमार गौतमले बताए । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार