वडाले बाँडियो मदरसाका विद्यार्थीलाई स्कुल ब्याग
झापा गाउँपालिका ५ नम्बर वडा कार्यालयले मदरसाका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । वडा कार्यालयले झापा-५ स्थित मदरसा मिसबाहुल उलुमका १०० जना विद्यार्थीहरूलाई ब्याग वितरण गरेको हो ।
ब्याग वितरण गर्दै वडाध्यक्ष कृष्ण प्रसाद राजवंशीले स्कुल र मदरसालाई धेरै गर्ने मन हुँदाहुँदै पनि गर्न नसकेको बताउँदै आगामी दिनमा अझै राम्रा कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै समाजसेवी तथा जग्गादाता इब्राहम अलिले ब्याग दिन योग्य विद्यार्थीलाई मात्र ब्याग प्रदान गर्न सुझाव दिए ।
मदरसा विद्यालयले भौतिकसँगै गुणस्तरीय पठनपाठनमा समेत जोड दिनुपर्ने उनले बताए । कार्यक्रममा मदरसाका व्यवस्थापन समिति अध्यक्ष सेर मोहम्मदले वडाले ब्याग वितरण गरेकोमा वडालाई धन्यवाद दिँदै सरकारले सामुदायिक विद्यालय र मदरसालाई सौतेलो व्यवहार गरेको आरोप लगाए । वडा सदस्य विजयप्रसाद राजवंशीले सञ्चालन गरेको ब्याग वितरण कार्यक्रममा वडा सदस्य लक्ष्मीकुमारी गणेश, साजेद सेख लगायतले आफ्ना भनाई राखेका थिए ।
झापा गाउँपालिकामा मुस्लिम समुदायद्वारा मुठी दानबाट चलेको मदरसा मिसबाहुल उलुममा कुल २४५ विद्यार्थी अध्ययनरत छन् .यहाँ कक्षा ६ सम्म पढाइ हुन्छ।