२०८३ बैशाख १५ गते , मंगलबार

साउदीमा सन् २०२३ मा एक नेपालीलाई मृत्युदण्ड

sajilo news
पत्रपत्रिका
२०८० पौष १९ गते , विहीबार
साउदीमा सन् २०२३ मा एक नेपालीलाई मृत्युदण्ड

काठमाडौं । साउदी अरबमा गत वर्ष (सन् २०२३) मा एक जना नेपालीलाई मृत्यदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेलजीवन बिताइरहेका पर्वत मोदी गाउँपालिका–४ खुइजेरीका सन्तबहादुर पुनलाई मृत्युदण्ड दिइएको हो ।

उनको टाउको काटेर मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले जानकारी दिए । सन् २०२३ मा साउदी अरबले एक नेपालीसहित १ सय ७० जनालाई मृत्युदण्ड दिएको जनाएको छ ।

यस्तै, साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको सूचना अधिकारी गिरीले बताए । मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरूले गरेका अपराध र नाम भने खुलाइएको छैन । सूचना अधिकारी गिरीका अनुसार थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदारलाई मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएको हो ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई पटकपटक अनुरोध गर्ने गरेको छ ।

दूतावासका अनुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला कामदार, घरेलु कामदारको संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेको छन् ।

साउदीमा यी १५ काम नगर्नुहोस्, मृत्युदण्ड हुनसक्छ
साउदी अरबको कानुन अन्य मुलुकको भन्दा निकै कडा छ । अन्य मुलुकमा सामान्य अपराध मानिने घटनामा पनि साउदीमा मृत्युदण्डको फैसला हुनसक्छ । तसर्थ, यी १५ अपराध नगर्न सुझाव दिइन्छ, जसलाई साउदी अरबमा मृत्युको सजाय दिइन्छ । आजको राजधानी दैनिकमा यो खबर छ । 

१. कुनै पनि हत्याको जघन्य योजना बनाएको पाइएमा
२. नियोजित हत्याजस्ता घटनामा
३. आतंकवादी गतिविधिमा संलग्न भएको पाइएमा
४. बलात्कार वा अन्य यौन अपराधमा
५. वेश्यावृत्तिमा लगाएमा
६. मुलुकलाई क्षति पु-याएको पाइएमा
७. समलिंगीसँग सहमतिमा पनि शारीरिक सम्बन्ध राखेमा
८. कसैको सम्पत्तिमा आगो लगाएमा
९. डकैती र लुटपाट गरेमा
१०. घरमा घुसेर या फोरेर चोरी गरेमा
११. प्रतिबन्धित नसालु पदार्थ ओसारपसार गरेमा
१२. मुलुकको धर्मको आलोचना गरेमा या धर्मविरुद्ध कुनै पनि प्रकारको दुर्भावना फैलाएमा
१३. सरकार या सेनासँग जोडिएको तथ्यसँग जासुसी गरेमा
१४. नसालु पदार्थ जोडिएको औषधि प्रयोग गरेमा
१५ जादु वा टुनामुना गरेमा

सम्बन्धित समाचार