'अधिकार प्राप्तिका लागि महिला एकजुट हुनुपर्छ'
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरूले संविधान प्रदत्त एवं पार्टी विधानमा उल्लेखित अधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमका सहभागी वक्ताहरूले पार्टीभित्र देखिएको गुट–उपगुटको विभाजनले अन्ततः महिला सहभागिता एवं महिलाकै राजनीतिक संरक्षणमा असर पर्ने बताउँदै पार्टीभित्रको टिमवर्कलाई सङ्गठन बलियो बनाउन प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
मुख्यगरी महिलालक्षित प्रशिक्षण र सिपमूलक तालिमहरू सञ्चालन गरेर आत्मनिर्भर बनाउँदै राजनीतिक संगठनहरु भित्रको सहभागितालाई बढाउनुपर्नेमा समेत सहभागीहरूले जोड दिएका हुन् ।
नेपाल महिला संघ झापाका कार्यवाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा नेपाली काँग्रेस झापाको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य द्वय सुशीला ढकाल र गोमा भट्टराई, नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय चन्द्रादेवी जोशी र उमा सिवाकोटी, जिल्ला सदस्य लीला मैनाली, नेपाल महिला संघका १ नं क्षेत्रीय अध्यक्ष रचना घिमिरे, २ नं क्षेत्रीय अध्यक्ष मनु विश्वकर्मा, ३ नम्बर क्षेत्रीय अध्यक्ष उर्मिला गौतम, यशोदा उप्रेती लगायतले मन्तव्य राख्नुभएको नेपाली काँग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैबीच सहभागीहरूले राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका पूर्व महासचिव एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई विजयको शुभकामना दिएका थिए । राष्ट्रियसभा सदस्यका लागि नेता सिटौलाले सोमबार कोशी प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेका छन् । संविधान मस्यौदा समितिका संयोजक रहेर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका सिटौलाले सशस्त्र विद्रोहमा रहेको नेकपा माओवादीलाई शान्ति वार्तामा ल्याउन विशेष योगदान गरेका थिए ।