२०८३ बैशाख १४ गते , सोमबार

काठमाडौँले के गर्‍यो भन्नेतिर नलागौँ : राम कार्की

sajilo news
झापा
२०८० माघ ७ गते , आईतबार
काठमाडौँले के गर्‍यो भन्नेतिर नलागौँ  : राम कार्की

मेचीनगर  । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रूपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् ।

‘हामी धेरै थाकिसक्यौँ,’ उनले भने, ‘अब पनि हिँड्न जानेनौँ भने परिवर्तनको आन्दोलन मरेर जान्छ ।’ माओवादी भित्रका प्रखर नेता मानिएका कार्कीले हाम्रै नेताका कारण माओवादीलाई काँग्रेस र एमालेजस्तो पार्टी बनाइदिएको आरोप लगाए । उनले अब पनि परिवर्तनका लागि नलड्ने हो भने जनताले नयाँ पार्टी बनाउने चेतावनी दिए ।

नेता कार्कीले परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने बताए । ‘काठमाडौँले के गर्‍यो भन्नेतिर नलागौँ,’ पूर्व सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने, ‘हाम्रो बाहुनडाँगी, धुलाबारी, काँकडभिट्टा, चारआली कसरी राम्रो बनाउनेतिर लागौँ । परिवर्तन अवश्य सम्भव छ । उनले स्थानीय आवश्यकताको पहिचानलाई स्थापित गर्न सबै लाग्नु पर्नेमा जोड दिए । बौद्धिक नेताको छवि बनाएका नेता कार्कीले काममा दत्तचित्त भएर लाग्न सुझाव पनि दिए । ‘आठ घण्टा आराम, आठ घण्टा काममा ध्यान दिन सक्यौँ भने परिवार तथा समाज आफैँ बन्छ,’ उनले भने, ‘तर, हाम्रो लगनशीलता, मेहनत गर्ने बानी खतम भएको छ ।’

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुराना कम्युनिस्ट योद्धाहरूलाई सम्मान गरिएको थियो । कम्युनिस्ट आन्दोलनलाई अहिलेसम्म मार्ग निर्देश गर्ने दुई दर्जन योद्धाहरूलाई ट्र्याक सुट, दोसल्ला तथा टोपी लगाइदिएर सम्मान गरिएको हो । यस्तै, शहिद परिवारलाई पनि सम्मान गरिएको थियो ।

माओवादी केन्द्र मेचीनगर सहइन्चार्ज पनिता अधिकारीले स्वागत तथा मेचीनगर सचिव ज्ञानेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद गोङ्गबु शेर्पाले मन्तव्य राखेका थिए । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य, प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, क्षेत्रीय कमिटी इन्चार्ज लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई वनभोज खुवाइएको थियो ।

सम्बन्धित समाचार