एमाले नगर कमिटि भद्रपुरद्वारा तीन जनाको सदस्यता खारेज
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरूको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो । सो निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।
नगर अध्यक्ष क.ब्रह्मलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य वसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं.३ (१) का इन्चार्ज क.सन्तलाल मेचे एवं पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सह इन्चार्ज कालीचरण बस्नेत सहितको आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।
बैठकमा नगर अध्यक्ष ढुङ्गानाले कार्य योजनाको एजेन्डा प्रस्तुत गर्न लाग्दा बैठकमा सहभागी वडा इन्चार्ज तथा वडा कमिटी अध्यक्ष एवम् सचिवालय सदस्यहरूले हलबाट पार्टीमा घात अन्तर्घात गर्नेहरूको विषयमा छलफल र निर्णय नगरी अध्यक्षबाट प्रस्तुत भएका विषयहरूमा छलफल गर्न नसकिने अडान राखेपछि स्थानीय तह, संघ तथा प्रदेश निर्वाचनमा स्पष्ट देखिने गरी भएका अन्तर्घात गर्ने गराउने माथिको कारबाही सम्बन्धमा छलफल चलाई निर्णय नभएसम्म प्रस्तुत विषयमा छलफल गर्न नसकिने अडान सहितको कार्यकर्ताको दबाबमा सो निर्णय भएको थियो ।
कार्यकर्ताले माथिल्लो कमिटीलाई नगरस्तरीय समीक्षा समितिले दिएको प्रतिवेदनलाई समेत माथिल्लो कमिटीले बेवास्ता गरेको भन्दै हलबाटै सो निर्णय गर्नु परेको एक सहभागीले बताए । सो बैठकले सो विषयमा व्यापक छलफल भई सर्वसम्मत ढङ्गले थप निर्णय पनि गरेको छ ।
निर्णयहरू यस प्रकार रहेको छ ।
१. नगर तथा वडा मातहतका केही कमरेडहरूलाई प्रत्यक्ष भेटघाट, कमिटीको बैठकमा मौखिक स्पष्टीकरण र केही कमरेडहरूलाई लिखित स्पष्टीकरण सोधिएकोमा माथिल्लो कमिटीका नेताका गतिविधिका कारण भ्रममा पर्न गएको स्वीकार गरी आत्मा आलोचना गर्नु भएको हुँदा सम्बन्धित कमरेडहरूलाई यथावत् पार्टी काममा फर्काउने निर्णय गरिएको छ ।
२. माथिल्लो कमिटीको जिम्मेवारीमा रहेर गत स्थानीय र संघ तथा प्रदेश निर्वाचनमा स्पष्ट देखिने बुझिने गरी पार्टीको उमेद्धार विरुद्धमा मत माग्ने, पार्टीका कार्यकर्ताहरूलाई विपक्षमा मतदान गर्न उत्प्रेरित गर्ने, विपक्षहरूसँग बैठक बसी आफ्नो पार्टीका गतिविधिबारे जानकारी दिने र योजना बनाउने, निर्वाचन परिचालनको समानान्तर कमिटीको रुपमा परिचालित भई पार्टीका कार्यकर्ताहरूलाई प्रलोभनमा पार्ने काँग्रेसका पैसा बाडने जस्ता पार्टी विरोधी गतिविधि गरेका स–प्रमाण सहित कार्यदलले प्रतिवेदन माथिल्लो कमिटीमा प्रतिवेदन बुझाई सकेको स्मरण गरियो ।
समयमै कारबाही नहुँदा अन्र्तघातीहरु आफूलाई पार्टीमै रहेको देखाउँदै गुट निर्माणमा तल्लीन रहँदै पार्टी कार्यकर्ता र जनतामा भ्रम छरी पार्टीलाई कमजोर बनाउने खेलमा हालसम्म लागि रहनु भएका तत्कालीन कोशी प्रदेश कमिटी सदस्य क.जीवन कुमार श्रेष्ठ र जहाँ एमाले त्यहाँ हराऊ अभियान सञ्चालन गर्ने सार्वजनिक उद्घोष गर्दै आउनु भएका तत्कालीन भद्रपुर नगर इन्चार्ज क.हरि तिम्सिना भद्रपुर ८ र जिल्ला विभाग सदस्य क.लोकनाथ भट्टराई माथि हालसम्म कुनै कारबाही भए नभएको जानकारी नआएकोमा यो बैठक दुःख व्यक्त गर्दछ ।
माथि उल्लेख भएका कमरेडहरू माथि समयमै कारबाही नहुँदा हौसला बढ्दै पछिल्लो परिवार नियोजन संघको निर्वाचनमा निज कमरेडहरूले गर्नु भएको गतिविधि प्रत्यक्ष रुपमा जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका जिम्मेवार कमरेडहरूले अवलोकन गर्नु भएको स्मरण गराउँदै नवीकृत सदस्यको नगरमा आएको नामावलीमा निज कमरेडहरूको नाम नआएको भए पनि जिल्ला रहेको हुँदा विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरू क.जीवन कुमार श्रेष्ठ भद्रपुर ७, क.हरि तिम्सिना भद्रपुर ८ र क.लोकनाथ भट्टराई भद्रपुर ८ को पार्टी सदस्यता खारेजीको निर्णय गरियो । यसको अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध गरी पठाउने निर्णय गरियो ।