२०८३ बैशाख १० गते , विहीबार

एमालेबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीप्रति आलोचना

sajilo news
झापा
२०८० माघ १९ गते , शुक्रबार
एमालेबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीप्रति आलोचना

नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरूसँग बिहीबार बिर्तामोडमा परामर्श बैठक गरेको छ । पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा परामर्श बैठक भएको हो ।

बैठकमा मूलतः नेकपा एमाले झापाको वर्तमान अवस्था, नेता नेतृत्वका जिम्मेवारीहरू, तिनको कार्यान्वयनको अवस्था, कार्यकर्ताले नेतृत्वप्रति गरेका अपेक्षा तथा आलोचनाहरूका विषयमा मसिनो गरी प्रस्तुत गरिएको थियो । निर्वाचनमा जनताका प्रतिनिधिहरू बनाएर पठाएका पार्टीका नेता कार्यकर्ताहरूको कार्यशैलीका बारेमा धेरै टिप्पणीहरू उठेका थिए ।
बैठकमा झापा जिल्ला कमिटी र सो मातहतका कमिटीलाई बढीभन्दा बढी सक्रिय बनाउन कस्तो योजनाहरू बनाउनु पर्छ र पार्टीलाई जनताको मनमा कसरी बसाइरहनु सक्ने बनाउन सकिन्छ भन्ने सन्दर्भमा वक्ताहरू केन्द्रित थिए ।
पार्टीका कार्यकर्ताहरूलाई चुनावमा उम्मेदवार बनाएर जिताएपछि सम्बन्धित कमिटीहरूको कुरा नसुन्ने प्रवृत्ति हाबी भएकोमा जनप्रतिनिधिहरूको खुलेर आलोचना भयो । पार्टीको लगामभन्दा माथि जनप्रतिनिधि रहँदा मतदाताले अपनत्व महसुस गर्न नसकेको विषयलाई परामर्शमा समेटिएको थियो ।

सचिव शिव ढुङ्गेलले सञ्चालन गरेको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू र प्रदेश कमिटीका सदस्यहरूलाई उनीहरूको परिभाषित क्षेत्रको जिम्मेवारीका विषयमा परामर्श मागिएको थियो । केन्द्रीय आयोग, विभाग, सल्लाहकार एवम् प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरूले खुल्ला सत्रमा पार्टी कामको समीक्षात्मक धारणा राखेका थिए ।
बैठकमा प्रमुख अतिथि खरेलले आफ्नो कार्यशैलीको आत्मालोचना गर्न सकियो भने मात्र पार्टीको परिभाषित भूमिका निर्वाह गर्न सकिने अर्थ्याउँदै यो बैठक सार्थक बनेको बताए ।

अरू राजनीतिक दलहरूभन्दा हाम्रा अभियानहरू जनतासँग प्रत्यक्ष जोडिएका छन् । तर हाम्रा कामहरू चाहिँ जनपक्षीय छन् कि छैनन् तिनको निर्मम समीक्षा गर्न ढिलाइ गर्न नहुने नेता खरेलको सुझाव थियो । मानिसलाई गोलबन्द गर्नका लागि कुनै इश्यु महत्त्वपूर्ण हुनेमा हामी त्यसो गरिरहेका छौँ या छैनौँ ? पार्टीले जिताएर पठाएका जनप्रतिनिधिहरूले गर्ने काम पनि पार्टीको चिनारी हो भन्ने कुरालाई हामीले बिर्सियौँ कि ! जस्ता कुरामा नेता खरेलले जोड दिएका थिए ।

समाजलाई माथि उठाउने हो भने हाम्रो समुदायका अल्पसङ्ख्यक जाति र समुदायको उन्नतिका लागि काम गर्नुपर्छ ,सम्मानजनक बाँच्ने आधार सिर्जना गरिदिनु पर्छ भन्ने कुराले समाजवादको यात्रा तय गर्ने उनको भनाई थियो ।
बैठकमा सहभागी पार्टी नेतृत्वहरूको सुझाव ग्रहणपछि अध्यक्षीय मन्तव्य राख्दै कार्यवाहक अध्यक्ष गिरीले चालू जिल्ला कमिटीको बाँकी अवधिबाटै यसको कार्यान्वयनका लागि काम सुरु गर्ने बताए । आगामी सचिवालय बैठक एवम् जिल्ला कमिटीको बैठकमा यी सुझावहरू व्यवहारिक रुपमा कार्यान्वयन गर्न सुरु गरिने उनले विश्वास दिलाए ।

अघिल्लो नेतृत्वले दिएको विरासतलाई उचाइमा लैजानु आफूहरूको कर्तव्य हुनेछ तर कमजोर बनाउने छुट हामीलाई छैन भन्दै उनले वैचारिक कामको लागि सकेसम्म कार्यान्वयनमा लगिने बताए । आगामी जेठभित्रमा जिल्ला, नगर र वडा अधिवेशनहरू सम्पन्न गर्ने अभिभारा पूरा गर्न आफूहरू सक्रियतापूर्वक जुट्ने बताउँदै कार्यवाहक अध्यक्ष गिरीले बिहीबार प्राप्त सुझावहरूलाई सम्पत्तिको रुपमा ग्रहण गर्दै नेतृत्वले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने आश्वस्त पारेका थिए ।

सम्बन्धित समाचार