साउदी अरबको अकामा नवीकरण नगर्दा त्रासमा काम गर्छन् नेपाली
काठमाडौँ । हरि गिरी अहिले साउदी अरबमा कार्यरत छन् । करिब ८ महिनाअघि रोजगारीका लागि साउदी पुगेका उनीलगायत २५ जना नेपाली कामदार कम्पनीले अकामा नवीकरण नगरिदिँदा समस्यामा छन् ।
पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेका उनीहरू त्यो कम्पनी नै नभेटिएपछि गल्फ भिजन कम्पनीमा काम गरिरहेका छन् । कम्पनीले अकामा तीन महिनाका लागि मात्र बनाइदिएको थियो । त्यसको म्याद सकिएपछि पुनः नवीकरण नगरिदिँदा आफूहरू २५ जना नै समस्यामा परेको गिरीले बताए ।
‘पहिला नेपालबाट म्यानपावरले भनेको कम्पनी पनि यहाँ आएपछि भेटिएन, अहिले गल्फ भिजन भन्ने कम्पनीमा काम गरिरहेका छौं,’ गिरीले राजधानीसँग भने, ‘अहिले यो कम्पनीले बनाइदिएको अकामा सकिएको दुई महिना हुनलाग्यो, नवीकरण गरिदिएको छैन, अकामा नहुँदा कुनबेला साउदी प्रहरीले पक्राउ गर्ने हो त्यो पनि थाहा छैन, हामी त्रासमा रहेर काम गरिरहेका छौं ।’
उनले कम्पनीलाई अकामा नवीकरणका लागि आग्रह गर्दा हुन्छ भनेको तर नगरिदिएको बताए । ‘हुन्छ, गरिदिन्छु मात्र भन्छ तर गर्दैन, त्यो पनि अहिले रातिको ड्युटी छ, कति बेला साउदी प्रहरी आएर पक्राउ गर्ने हो केही थाहा छैन,’ उनले थपे । कम्पनीले अकामा नवीकरण नगरिदिँदा कमाएको धेरथोर पैसा पनि नेपाल पठाउन समस्या हुने गरेको उनले बताए ।
अकामा नहुँदा बिदाको समयमा बाहिर हिँडडुल गर्न पनि समस्या भएको उनले सुनाए । साउदी अरबका कम्पनीहरूले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रूपमा काम गर्न बाध्य छन् । अहिले कम्पनीहरूले अकामा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या भएको जनाइएको छ ।
आफूले कमाएको धेरथोर पैसा घरपरिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुनुपरेको छ । साथै, यस्ता घटनालाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।
कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिमाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण हजारौं नेपाली स्वदेश फर्किन सकेका छैनन् ।
यसरी कम्पनीहरूले अकामा नबनाइदिएका नेपालीहरूलाई स्वदेश फर्कन समस्या हुने गरेको र त्यसका लागि दूतावासको सहयोगमा साउदी सरकारले बहिर्गमन भिसा (एक्जिट भिसा) उपलब्ध गराउँदै आएको छ, जुन भिसा अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा आवश्यक पर्छ । कम्पनीले अकामा नबनाइदिएर वा नवीकरण नगरिदिएपछि कम्पनी छोडेर भागेका ११ हजार १ सय २६ नेपाली अवैध रूपमा त्यहाँ कार्यरत रहेका पाइएको छ ।
एक सातामै १९ हजार बढी गैरकानुनी कामदार पक्राउ
साउदीले राज्यभरका सबै क्षेत्रमा निरीक्षण छापा मार्दा एक साताभित्रै १९ हजारभन्दा बढी अवैध बसोबास गर्नेलाई पक्राउ गरेको छ । निरीक्षण छापाहरूमा कुल १९ हजार १ सय ९९ जना गैरकानुनी रूपमा बसोबास गर्नेहरूलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा १९ हजार १ सय ९९ जना गैरकानुनी बसोबास गर्नेमध्ये ११ हजार ७ सय ४२ जना रेसिडेन्सी ऐन उल्लंघन गर्ने, ४ हजार १ सय ३ जना सीमा सुरक्षा कानुन उल्लंघन गर्ने र ३ हजार ३ सय ५४ जना श्रम कानुन उल्लंघन गर्ने पक्राउ परेका छन् । ८ देखि १४ फेब्रुअरीसम्मको अवधिमा सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
सीमा पार गरेर साउदी अरेबियामा प्रवेश गर्ने क्रममा पक्राउ परेका व्यक्तिको कुल संख्या ९ सय १६ पुगेको छ, जसमा ४६ प्रतिशत यमनी, ५३ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रका थिए । यस अवधिमा अवैध रूपमा साउदी अरेबियाबाहिर सीमा पार गर्न खोज्दा थप १ सय १ जना पक्राउ परेका छन् ।
अन्य ११ जनालाई पनि पक्राउ गरी ओसारपसार, बसोबास, काम र सीमा सुरक्षा नियम उल्लंघन गर्ने र गैरकानुनी रूपमा बसोबास गर्नेलाई आश्रय दिने गरेको अभियोग लगाइएको छ । साथै, आन्तरिक मन्त्रालयले मानिसहरूलाई मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बरहरूमा कल गरेर उल्लंघनका कुनै पनि घटनाहरू रिपोर्ट गर्न आग्रह गरेको छ ।
पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।