भद्रपुरमा २१ हजार १९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै
भद्रपुर । भद्रपुर नगरपालिकामा २१ हजार १९ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन २० देखि २९ गतेसम्म नगरका १० वटै वडाका ९ महिनादेखि १५ वर्षमुनिका २१ हजार १९बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो । सो अभियानका बारेमा बुधबार नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण गोष्ठीमार्फत जानकारी गराएको हो ।
नगरमा खोप अभियान सञ्चालनका लागि ६८ वटा खोप केन्द्र निर्धारण गरिएको नगरका स्वास्थ्य शाखा अधिकृत शान्तिराम भट्टराईले जानकारी दिए । अभियानमा १९ जना खोपकर्मी र १३३ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा अभिमुखीकरण गोष्ठी भएको हो ।
नगर प्रमुख पोखरेलले दादुरा–रुबेला खोप अभियानलाई सफल बनाउन अधितम् प्रयास गर्ने बताए । उनले नगरका १०४ वटै टोल विकास समितिहरूसँग छलफल गरी अभियान सफल बनाइने बताए । नयाँ विद्यार्थी भर्ना गर्ने क्रममा खोप कार्ड अनिवार्य गरिनुपर्ने सुझाव समेत आएको उनले बताए । कार्यक्रममा अभियानबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले खोप प्रमाणित एवम् सुरक्षित भएको बताए । उनले खोप लगाएपछि सामान्य एलर्जी देखिए पनि केही नहुने बताए ।
नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराईले गरेका थिए ।