बिर्तामोडका २३७ विद्यार्थीहरुले पाए स्कुल जुत्ता
बिर्तामोड । बिर्तामोड- ८ स्थित शुक्रराज आधारभूत विद्यालयका बालबालिकाहरूले स्कुल जुत्ता पाएका छन् । बिर्तामोड-८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा विपन्न वर्गका विद्यार्थीहरू अध्ययनरत सो विद्यालयका २३७ जना बालबालिकाहरूलाई स्कुल जुत्ता वितरण गरिएको हो ।
निम्न आर्थिक अवस्थाका कारण अधिकांश विद्यार्थीहरू खाली खुट्टा र चप्पलमा आउने गरेकाले उनीहरूलाई वडा कार्यालयको बजेटबाट स्कुल जुत्ता वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । वडा कार्यालयले शुक्रराज आधारभूत विद्यालयका बालबालिकाहरूलाई जुत्ता उपलब्ध गराउन ९५ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
वडाध्यक्ष कार्कीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू सोयालाल राजवंशी , इन्दिरा पाण्डे , अग्निप्रसाद सिटौला , लक्ष्मी नेपाली, विद्यालयका प्रधानाध्यापक गोमादेवी दुलाल ,शिक्षक अभिभावक संघका अध्यक्ष रणवीर बराल,अभिभावक , शिक्षकलगायतको सहभागिता रहेको थियो ।
कक्षा शिशुदेखि ८ सम्म अध्ययन हुने त्यस विद्यालयका विद्यार्थीहरू जुत्ता पाएपछि हर्षित भएका छन् । वर्षेनि विपन्न ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आएको बिर्तामोड ८ को वडा कार्यालयले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।