मलेसियाले सुरु ग-यो अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम
झापा । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि शुक्रबारबाट घरफिर्ती कार्यक्रम सुरु गरेको छ । मलेसियाले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घरफिर्ती कार्यक्रम गर्न लागेको हो ।
माइग्रेसन प्रिपरेसन प्रोग्रामअन्तर्गत बढीमा ५ सय मलेसियन रिंगिट जरिमाना तिरेर घर फर्किन पाउने त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव बलिरामप्रसाद धामी र श्रमसहचारी दिलीप खड्काले फेसबुक लाइभमार्फत जानकारी दिएका छन् ।
सो कार्यक्रमअन्तर्गत मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे)को हकमा ५ सय मलेसियन रिंगिट जरिमाना र भिसाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिंगिट जरिमाना तिरेर फर्किनसक्ने सचिव धामीले बताए । अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन ।
यसका लागि घर फर्कन चाहने नेपालीले दाजुभाइ तथा दिदीबहिनीहरू स्वयं सो कार्यक्रममा आबद्ध हुने प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए । वैधानिक कागजात नभए तापनि जरिमाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने र त्यसका लागि सरल प्रक्रिया अपनाउनुपर्नेछ ।
वैध राहदानी वा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का लागि नेपाली दूतावासमा आवेदन दिनुपर्नेछ । निवेदन दिने दिनदेखि १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने । मलेसियन रिंगेट ३ सय अथवा ५ सय जरिमाना पनि तिर्नुपर्नेछ । आजको राजधानी दैनिकमा खवर छ ।