भद्रपुरस्थित शुभसाइत सहकारीविरुद्ध कानुनी कारबाही
बचतकर्ताको लाखौँ रकम फिर्ता नगरी हिनामिना गरेको भद्रपुर- १० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्था ली.विरुद्ध कानुनी कारबाही सुरु गरिएको छ ।
सहकारी रजिस्ट्रार कार्यालयको पत्रअनुसार त्यस सहकारीका सञ्चालकविरुद्ध कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहकारीविरुद्ध परेको उजुरीका विषयमा कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । उनले त्यसबारे आज सहकारीका सञ्चालकहरूलाई बोलाइएको जानकारी दिए । सहकारी रजिस्ट्रार कार्यालयका प्रतिनिधिहरूको रोहवरमा छलफल गराउने र त्यसबाट निकास ननिस्किए कानुनी कारबाही अगाडि बढाइने प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए ।
२०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । यसअघि बचत फिर्ता नगर्ने बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परिसकेका छन् ।