२०८३ बैशाख १४ गते , सोमबार

प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले निकाले छेडेर आन्द्राभित्र पसेको माछाको काँडा 

sajilo news
पार्थ मण्डल
२०८० चैत्र ३ गते , शनिबार
प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले निकाले छेडेर आन्द्राभित्र पसेको माछाको काँडा 

झापा । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो ।  

सहनी बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल उपचार गराउन पुगेका थिए । सुरु चिकित्सकले एपेन्डीसको दुखाई भनेर आशङ्का गरेका थिए । एपेन्डीसको शल्यक्रिया गर्नुपर्छ भनेर उनी भर्ना भए । 

एपेन्डीसको शल्यक्रिया गर्ने क्रममा पित्त देखियो । ‘कतै बिरामीको आन्द्रा फुट्यो कि भनेर शङ्का लाग्यो,’ सर्जन डा. विनेश झाले भने, ‘आन्द्रामा सानो तुस्सा (मासु) पलाएको रहेछ, त्यो सानो आन्द्रामा देखियो र त्यसमा प्वाल पनि परेको रहेछ ।’ 

‘आन्द्रामा कसरी प्वाल पर्‍यो भनेर पानीले सफा गरेर हेर्दा भित्र माछाको एउटा काँडा भेटियो,’ डा. झाले भने, ‘काँडाले आन्द्रालाई छेडेर प्वाल गरी भित्रै पसेको रहेछ, धन्न समयमै शल्यक्रिया गरी काँडा निकालेर बिरामीलाई बचाउन सफल भएऔं ।’ काँडा निकालेपछि बिरामीको दुखाई कम्ती भएको र उनलाई अस्पतालमै राखेर उपचार गरिरहेको उनको भनाई छ ।   

सम्बन्धित समाचार