२०८३ बैशाख १० गते , विहीबार

बिर्तामोडमा १११ जना कुष्ठरोगी

sajilo news
झापा
२०८० चैत्र १५ गते , विहीबार
बिर्तामोडमा १११ जना कुष्ठरोगी

बिर्तामोड । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको सङ्ख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पडताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा कुष्ठरोगीको सङ्ख्याका बारेमा जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख रमेश बाह्रकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको सङ्ख्या १ सय ११ जना पुगेको जानकारी दिए । जसमा सबै भन्दा बढी वडा नम्बर ३ मा १९ जना रहेका छन् । यस्तै वडा नम्बर १मा १३ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ४मा १४ जना, वडा नम्बर ५मा १६ जना, वडा नम्बर ६मा ६ जना, वडा नम्बर ७मा ७ जना, वडा नम्बर ८ मा १३ जना, वडा नम्बर ९मा ६ जना र वडा नम्बर १० मा १३ जना रहेका छन् । कार्यालय प्रमुख बाह्रकोटीले कुष्ठरोगीले औषधी पुरा मात्रामा सेवन गरे अरूलाई सार्न र अङ्गभङ्ग हुनबाट बच्ने बताए । उनले समाजमा कतिपय रोगीहरू गलत धारणाका कारण लुकेर बस्ने गरेकोले पनि कुष्ठरोग नियन्त्रणमा समस्या देखिएको बताए।

यस्तै नेपाल कुष्ठरोग सङ्गति (एनएलएफ) झापाका कार्यक्रम संयोजक दीपक घिमिरेले विगत २०५७ सालदेखि एनएलएफले नेपाल सरकारको कुष्ठरोग नियन्त्रण कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले झापामा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । एनएलएफले बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा कुष्ठरोगका विषयमा जनचेतनामूलक कार्यक्रम र रोगको संक्रमण भए नभएको चेकजाँचका लागि स्क्रिनिङ गर्ने कार्य गर्दै आएको छ ।

बिर्तामोडलाई कुष्ठरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत प्रथम चरणमा वडा नम्बर १,४,५,६ र ८ लाई प्राथमिकता दिएर अभिमुखीकरण कार्यक्रम गरिएको बिर्तामोडका कुष्ठरोग फोकल पर्सन दीपक सापकोटाले जानकारी दिए। प्रति १० हजार जनसङ्ख्यामा आर्थिक वर्ष २०७९/८०को अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स) दर झापाको १.६० रहेको छ । यो कोशी प्रदेशकै सबैभन्दा बढी हो ।

तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा मात्रै झापाका पालिकाहरूमा सङ्क्रमितको सङ्ख्या कचनकवलमा २४ जना , बिर्तामोडमा १९ जना, दमकमा १८ जना , गौरीगञ्जमा १६ जना, गौरादहमा ११ जना, हल्दीबारीमा ११ जना, मेचीनगरमा १० जना, भद्रपुरमा १० जना, कमलमा ८ जना , शिवसताक्षीमा ६ जना,  झापामा ६ जना, बुद्धशान्तिमा ५ जना, अर्जुनधारामा ५ जना, बाह्रदशीमा ५ जना र कनकाईमा ३ जना गरी १ सय ५७ जना रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नगरका प्रवक्ता तथा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, राहुल शर्मा, रोहित प्रसाईँ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नगर अस्पतालका प्रमुख डा। सुनिल अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।  कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र एनएलएफ झापाका कार्यक्रम संयोजक सहजिकरण गरेका थिए ।

 

सम्बन्धित समाचार