आम औषधी सेवनमा हल्दिबारी गाउँपालिका जिल्लाकै उत्कृष्ट, स्वास्थ्य मन्त्रालयद्वारा सम्मान
हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापा जिल्लामा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य सेवा विभागले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० को हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा हल्दिबारी गाउँपालिकाले गरेको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गरिएको हो ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री,स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई सम्मान पत्र प्रदान गरेका थिए । स्वास्थ्यकर्मी , जनप्रतिनिधि, सरोकारवाला तथा कर्मचारीहरूको सक्रियताले यो सम्मान मिलेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए।
स्वास्थ्य स्वयंसेविका, औषधि सेवन गर्ने जनसमुदाय, राजनैतिक नेतृत्व सञ्चारकर्मीलगायत सवैको महत्त्वपूर्ण सहभागिता नै सफलताको आधार भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। आगामी २०८१ वैशाखमा फेरि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुन गइरहेको छ।