ओमसाई अस्पतालले अपाङ्गता भएका व्यक्तिलाई उपचारमा ५० प्रतिशत छुट दिने
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले अपाङ्गता पुनर्स्थापना केन्द्रमा शनिबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ। हस्पिटलले भद्रपुर–४ स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको आवासीय पुनर्स्थापना केन्द्रमा राखिएका अपाङ्गता भएकाहरूलाई स्वास्थ्य परीक्षण गरेको हो ।
सो केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् महिनामा एकदिन निःशुल्क स्वास्थ्य परीक्षण गरिने कार्यक्रम नै बनाइएको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम) ले बताए । उनले अपाङ्ग केन्द्र झापाले सिफारिस गरेका अपाङ्गता भएकाहरूको उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिनेसमेत घोषणा गरेका छन् ।
चिकित्सकसहितको प्राविधिक टोलीले आज पहिलो पटक आयोजना गरेको शिविरमा अस्पतालले निःशुल्क औषधि समेत वितरण गरेको पाथीभरा अस्पतालका व्यवस्थापक दीप पौडेलले जानकारी दिए । अपाङ्गता पुनर्स्थापना केन्द्रमा हाल १५ जना आवासीय रुपमा रहेको पुनर्स्थापना केन्द्रका प्रमुख केदार महतले बताए ।