ओमसाई हस्पिटलमा डियुटी गर्दागर्दै मृत्यु भएका सेक्युरिटी गार्डका परिवारलाई ३ लाख ६७ हजारको चेक हस्तान्तरण
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै मृत्यु भएका सेक्युरिटी गार्ड इन्चार्ज भद्रपुर- ६ का कुमार बोगटीको परिवारलाई सिटीजन लाइफ इन्स्योरेन्सले सामूहिक म्यादी जीवन बिमा रकम बराबरको चेक हस्तान्तर गरेको छ ।
हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम) ले मृतककी श्रीमती सुभद्रा बोगटीलाई सामूहिक म्यादी जीवन बिमा बापतको ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । अस्पतालले कर्मचारीहरूको सामूहिक म्यादी जीवन बिमा गरिदिए वापतको बिमा रकम ३ लाख ५० हजार र काजक्रिया खर्च बापत १७ हजार ५०० गरी जम्मा ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक बिमा नियमावली अनुसार प्रदान गरिएको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख उत्तम कोइरालाले जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख दीप पौडेल, अस्पतालका प्रशासक मनोज दाहाल, सिटीजन लाइफ इन्स्योरेन्स चन्द्रगढी शाखा प्रमुख विपिन राई लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा लामो समय सम्म सेक्युरिटी गार्ड इन्चार्ज रहेका बोगटीको गत माघ २९ गते बिहान हृदयाघातको कारण मृत्यु भएको थियो ।