साउदी अरब जान चाहने तथा त्यहाँ रहेका नेपालीले जान्नैपर्ने यी कुरा
काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले साउदीलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहेका नेपालीलाई जानकरी लिएर मात्र साउदी आउन अनुरोध गरेको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला) पद्धति, कम्पनी तथा कामको प्रकृति, सेवासुविधा र सेवा शुल्क, कामदार छनोट र भिसा प्रक्रियामा हुने रोजगारदाताको खर्चलगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्या झेल्नुपरेको दूतावासले जनाएको छ ।
‘विशेषगरी, कामदार साउदी अरब आउनासाथ काम र अन्य कुरामा समायोजन हुन नसक्दा अविलम्ब घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिँड्ने ज्यानैसमेत जोखिममा परेका घटना हुने गरेका छन् ।
यस्ता विकराल समस्या न्यूनीकरण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले दूतावासले यो जानकारीमूलक सूचना सार्वजनिक गरेको हो,’ दूतावासले सूचनामा उल्लेख गरेको छ । सो सूचनामा साउदीको भौगोलिक अवस्थादेखि संस्कृति, खानपान तथा भाषालगायत विविध जानकारी रहेका छन् ।
साउदी अरब : एक संक्षिप्त परिचय
साउदी अरब अधिराज्य अरबी प्रायद्वीपको सबैभन्दा ठूलो देश हो । यसको सीमा ८ मुलुकसँग जोडिएको छ । उत्तर–पश्चिममा जोर्डन, इजिप्ट पर्छन् भने उत्तरमा इराक, कुवेत, पूर्वमा बहराइन, कतार र संयुक्त अरब इमिरेट्स पर्छन् । त्यसैगरी, दक्षिण पूर्वमा ओमन, दक्षिणमा यमनलगायतका देश छन् ।
केही क्षेत्रसँग दक्षिण पूर्वमा पर्सियन खाडी अरबको खाडीले छोएको छ भने उत्तर–पूर्व र पश्चिममा ृलाल सागर रहेको छ । यसको अनुमानित जनसंख्या करिब २ करोड ७५ लाख र यसको क्षेत्रफल २१ लाख ५० हजार वर्ग किलोमिटर रहेको छ । यस मुलुकमा १३ प्रान्त छन् । यो मरुभूमिको देश हो ।
पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो देशका मुख्य आर्थिक स्रोत हुन् । यहाँको हावापानी सुख्खा छ । यहाँ पानी नपर्ने र अत्यधिक गर्मी हुन्छ । वर्षातको समयमा बाहिरको तापक्रम ५० डिग्रीभन्दा माथि पुग्छ । साउदी अरब एक इस्लामिक राष्ट्र हो । विश्वका इस्लाम धर्माबलम्वीको ठूला धार्मिकस्थल मक्का र मदिना साउदी अरबमा रहेको हुँदा साउदीलाई ‘दुई पवित्र मस्जिदको भूमि’ पनि भनिन्छ ।
यहाँका राजालाई यी दुई धार्मिक स्थलको संरक्षक मानिन्छ । संसारभरिबाट बर्सेनि लाखौं इस्लाम धर्मावलम्बी मक्का मदिनामा हज (हिजरी पात्रोको १२औं महिनामा) र उमराह (वर्षैभरि) गर्नका लागि आउँछन् । यहाँको न्याय प्रणाली पूर्णतः इस्लामिक कानुन (सरिया कानुन)मा आधारित छ । यस मुलुकमा अनेकौं ठूला, मझौला र साना उद्योग, व्यवसाय, आयोजना सञ्चालन भएकाले कामदारले मुलुकभित्र जुनसुकै ठाउँमा पनि काम गर्न जानुपर्नेहुन्छ ।
पूर्व तयारी चरण
१. कुन कामका लागि साउदी अरबमा जान लागेको हो, निश्चित गर्नुहोस् । सो कामका लागि नेपाल सरकारले तोकेको पारिश्रमिक कति छ थाहा पाउनुहोस् । अदक्ष कामदारका लागि नेपाल सरकारले साउदी रियाल १ हजार र खानाबापत ३ सय तोकेको छ । अन्य पदका पारिश्रमिक’bout यकिन हुनुहोस् ।
२. त्यो कामका लागि आवश्यक सीप छ छैन विचार गर्नुहोस् । सीप नभए सिक्नुहोस् ।
३. सीप सिकेको भनी प्रमाणपत्र मात्र नलिनुहोस्, वास्तविक रूपमा तालिम लिएर नै सीप सिक्नुहोस्, प्रमाणपत्र लिनुहोस् ।
४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप परीक्षण प्रमाणपत्रसमेत लिनुहोस् ।
५. सीप परीक्षण नभएको सीप प्रमाणपत्रको मान्यता हुँदैन । त्यस्तो प्रमाणपत्रले तोकिएको सुविधा पनि नपाइने भएकाले यकिन गर्नुहोस् ।
६. सीप भएर प्रमाणपत्र नभए पनि समस्या हुन सक्छ । कुनै कुनै पेसा सीपयुक्त हुने र त्यसको सीप परीक्षण प्रमाणपत्र बेगर कमा पनि नबन्ने हुन सक्छ ।
७. साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुहोस् ।
८. फाइदा नहुने भए बिचौलिया र मेनपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो चाख र सीपअनुसारको केही पेसा, व्यवसाय गर्नुहोस् । नेपालमा नै नेपालकै लागि परिवारका साथ बसेर आनन्दसँग काम गर्न सकिन्छ । यो सकरात्मक पक्षलाई पटकपटक मनन गर्नुहोस् ।
९. नेपाल मै बसेर केही गर्छु भन्ने निर्णय गर्नुभयो भने यो नै उत्तम निर्णय हुनेछ ।
१०. अब मानौं आउने नै निर्णय गर्नुभयो । यस अवस्थामा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भिसामा मात्र साउदी आउनुहोस् । मेनपावर कम्पनी कस्तो प्रकारको हो विभिन्न स्रोतबाट यकिन गर्नुहोस् । बिचौलियाको विश्वास नगर्नुहोस् । कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिनुहोस् ।
११. वर्किङ भिसाबाहेक अन्य भिसा (भिजिट भिसा, हज÷उमरा भिसा, फ्री वर्क÷आजाद भिसा)बाट काम गर्ने भनी नआउनुहोस् । भिजिट भिसामा पठाएर थुप्रै नेपालीलाई अलपत्र बनाएका घटना प्रशस्त रहेका छन् । सजग हुनुहोस् । विशेष गरी महिला कामदारलाई कुवेत, यूएई र भारतको बाटो हँुदै भिजिट भिसामा साउदी अरब ल्याउने गरेको पाइएको छ । यसरी आउने महिला वर्षौंसम्म बिना पारिश्रमिक रोजगारदाताको चरम शोषणमा पर्ने गरेका प्रशस्त घटना छन् । तसर्थ अनावश्यक प्रलोभनमा नपर्नुहुन वैदेशिक रोजगारीमा जाने सोचका महिलालाई विशेष अनुरोध छ । गैरकानुनी रूपमा सक्रिय एजेन्ट वैदेशिक रोजगारीका नाममा महिलाको बेचबिखनमा लागिपरेका हुन सक्छन् ।
१२. आफ्नै चिनजानका मानिस एजेन्ट भएर तपाईंलाई गलत सूचना दिएर ठगी गर्न सक्छन् । पहिला साउदीमा काम गर्न आइसकेका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।
१३. सम्झौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।
१४. साउदी अरबमा कामदारका रूपमा आउन सेवा शुल्कका रूपमा न्यूनतम लागत (भिसा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकाले) मात्र लाग्छ । बढी रकम कसैलाई नबुझाउनुहोस् ।
१५. १० देखि १० हजारभन्दा वढी पैसा दिनुभएको छ भने तपाईं नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
१६. नेपालमा नै नेपाली मेनपावर र एजेन्टले ठगेमा विदेशमा विदेशीले तपाईलाई ठग्दैन भन्नै सकिँदैन । जसलाई जति रकम बुझाउनुहुन्छ त्यसको भर्पाई लिनुहोस् । भर्पाईबिना रकम बुझाउनु गलत हो । गलतको परिणाम गलत नै हुन्छ ।
१७. साउदी अरबमा कामदारका रूपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईंको स्वास्थ्य कमजोर छ वा कुनै बिरामी हुनुहुन्छ वा औषधि सेवन गरिरहनुभएको छ भने नआउनुहोस् ।
१८. घरेलु तथा सामाजिक हिंसाबाट मुक्ति, लागूऔषध सेवनको समस्या भएका तथा अवसाद (डिप्रेसन) आदि समस्या भई नेपालका सुधार गृहमा राखी सुधार ल्याउनुपर्ने अवस्थाका व्यक्तिलाई साउदी अरबमा पठायो भने सुधार हुन्छ भन्ने भ्रममा परिवारका सदस्यले साउदी अरब नपठाउनुहोस् आफू नआउनुहोस् । त्यस्ता कामदार यहाँ आएर सुधार हुने नभई झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटना पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।
१९. विशेषगरी कतिपय महिला कामदारलाई विभिन्न प्रलोभनमा पारेर उत्पत्तिको मुलुक, बाटोमा पर्ने मुलुक तथा गन्तव्य मुलुकमा समेत चरम शोषण हुने गरेकाले महिलाले वैदेशिक रोजगारीमा आउनुपूर्व गम्भीर विचार गर्नुहोस् ।
२०. यहाँको हावापानी सुख्खा र अत्यधिक गर्मी हुने हुँदा खुला ठाउँमा काम गर्नुपर्ने प्रकृतिका काम जस्तै कृषिफार्म÷मजरा तथा निर्माण क्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा बिचौलिया एवं मेनपावर कम्पनीले गलत जानकारी दिई पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहीछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भए पनि काम भने बिचौलिया वा मेनपावरले भनेअनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् ।
२१. पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनै पनि सम्झौता नगर्नुहोस् । गत वर्ष नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदहरूका लागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधाबापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधासम्बन्धी यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । सम्झौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस् ।
२२. सप्लाई कम्पनी भनेको भए आउने थिइनँ भन्ने श्रमिक बढी देखिएकाले कस्तो कम्पनीमा जाँदै छु भन्नेमा प्रस्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनी’bout वेभसाइट एवं अन्य स्रोतबाट बुझ्नुहोस् । रिक्वायरमेन्ट, मेनपावर कम्पनीजस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्छन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकाले विचार पु¥याएर मात्र आउनुहोस् । अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुने गरेका समस्या आइरहेका छन् ।
२३. सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदार कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ ।
तयारी चरण
१. माथिका सबै बुँदा पढिसकेपछि साउदी अरब आउने निश्चित गर्नुभयो भने सम्भव भएसम्म एकपल्ट सम्बन्धित कम्पनीको विषयमा वेवसाइट हेरेर वा ती कम्पनीमा काम गर्ने नेपालीसँग सम्पर्क गरेर सबै कुरा बुझ्नुहोस् । सो कम्पनीमा काम गर्ने कामदारको सम्पर्क नम्बर तपाईंलाई पठाउने भनिएको मेनपावरबाट उपलब्ध हुन सक्छ । रोजगारदाताको फोन नम्बर लिएर पनि कुरा गर्न सकिन्छ ।
२. पासपोर्ट, भिसा, करारपत्र, श्रम स्वीकृति, रकम बुझाएको भर्पाईलगायतका कागजात ठीक दुरुस्त भए नभएको यकिन गर्नुहोस् । सवारी चालक काममा आउनेले यातायात कार्यालयबाट सवारी चालक अनुमतिपत्रको अभिलेख प्रमाणसहित आउनुहोस् । नक्कली लाइसेन्स लिएर नआउनुहोस् ।
३. कागजात ठीक भएपछि एक सेट छायाप्रति घरमा छोडेर आउनुहोस् ।
४. रोजगारदाताले दिने सुविधा, तलब, आवास, खाना, ओभरटाइम, कार्यघण्टा, कार्यदिनसहितको श्रम सम्झौता रोजगारदाताको सही भएको छ छैन विचार पु¥याउनुहोस् । दोहोरो श्रम सम्झौता गरेर नआउनुहोस् । जब तपाई दुईवटा सम्झौता बोकेर आउनुहुन्छ समस्या त्यहीबाट सुरु भयो भन्ने बुझ्नुहोस् ।
५. एयरपोर्टसम्म लिन आउने व्यक्तिको नाम र सम्पर्क नम्बर लिनुहोस् । कफिल (स्पोन्सर) वा मुदिर (म्यानेजर)को सम्पर्क नम्बर पनि लिइराख्नुहोस् । नेपाली राजदूतावासको वेभसाइट तथा फेसबुकका सूचना हेर्नुहोस् तथा टेलिफोन नम्बर पनि लिनुहोस् ।
६. अरेविक भाषाको सामान्य शब्दावली बुझ्ने र सोध्न सक्ने भएर आउनु राम्रो हो । दुई दिनको अभिमुखीकरण तालिम लिएर आउनु अनिवार्य छ । तालिम नलिई प्रमाणपत्र मात्र लिएर नआउनुहोस् ।
७. साउदी अरबको कुन ठाउँमा जानुपर्ने, जहाजबाट कहाँ पुगिने, कति समय लाग्ने, यकिन गरेर सोहीअनुसार खर्च र अन्य आवश्यक व्यवस्था गरेर आउनुहोस् ।
८. नेपाल सरकारले घरेलु कामदार (हाउसमेड, निजी ड्राइभर, बगैचे तथा भान्से आदि)लाई साउदी अरब आउन श्रम स्वीकृति प्रदान गर्दैन । यस्ता कामदारको हकमा स्थानीय श्रम कानुनसमेत लागू हुँदैन । यसर्थ, कसैको लोभलालच वा आश्वासनमा परेर गलत तरिका वा बाटोबाट यस्ता काममा नआउनुहोस् ।
९. अन्य मुलुक भएर साउदी अरब नआउनुहोस् । विविध कारणले आउनुपरेमा सम्बन्धित देशमा भएको नेपालको नियोगको अनुमति लिएर मात्र आउनुहोस् । यसरी आउनेले पनि आफ्नो सुरक्षा र मर्यादाको विषयमा गम्भीर सोचविचार गरेर मात्र आउनुहोस् ।
यात्राको चरण
१. आवश्यक कागजात ः पासपोर्ट, भिषा, करारपत्र, आवश्यक खर्च, लुगाफाटा लिएर आउनुहोस् । साउदीमा गैरकानुनी हुने पदार्थ ः मदिराजन्य पदार्थ, नसालु पदार्थ, गुटखा, मर्चा तथा चिकित्सकको प्रेस्क्रिप्सनभन्दा बाहिरका औषधी आदि नल्याउनुहोस् ।
२. विमानस्थलको श्रम डेस्कमा सोधेको विषयमा सही जानकारी दिनुहोस् । श्रम डेस्कमा सोध्दा पैसा १० हजार दिएको भन्ने तर विदेशमा पुगेपछि बढी दिएको हो नभन्नुहोस् । जे सत्य हो, त्यही सबै ठाउँमा भन्नुहोस् । ठगिएको शंका भएमा जिल्ला प्रशासन कार्यालय वा वैदेशिक रोजगार विभाग वा एयरपोर्टको श्रम डेस्क वा प्रहरीमा उजुरी दिनुहोस् ।
३. स्वदेशकै विमानस्थलबाट आउनुहोस् । स्वीकृतिबेगर विदेशी मार्ग वा विमानस्थल प्रयोग गरेर आउँदै हुनुहुन्छ भने तपाई दुःखको भुमरीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस् ।
४. यात्राको चरणमा विमानस्थल र प्रवेषाज्ञाका प्रक्रिया’boutमा पूर्वजानकारी लिनुहोस् र सभ्य तरिकाले सोहीअनुसार आचरण र व्यवहार गर्नुहोस् ।
५. साउदी अरबको विमानस्थलको अध्यागमन क्लियर भएपछि आफूलाई लिन आउने मानिस सही हो होइन (नाम वा फोन नम्बरबाट) यकिन गर्नुहोस् । पासपोर्ट जसलाई पायो उसैलाई नदिनुहोस् ।
अर्कै रोजगारदाताले लैजान सक्ने भएकाले चनाखो हुनुहोस् । साउदी अरब आउने सोचमा रहनुभएका नागरिक एवं सरोकारवाला सबैले माथि उल्लेख जानकारीमूलक विषयवस्तुलाई पटकपटक पढी मनन गर्नुहोस् । वैदेशिक रोजगारी सोचे सुनेजस्तो सजिलो छैन । देशभित्रै रोजगारी वा स्वरोजगारीका अवसर खोज्न अनुरोध गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।