सञ्चालनमा आयो भद्रपुरमा दुई करोड लागतको 'डे–ग्लो ब्याङ्केट'
भद्रपुर । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मानसिकता बोकेर बिदेसिने युवाको ठुलो जमातबिच आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ विदेशको आकर्षक कमाइ छोडेर नेपालमै उद्यम गर्ने युवाहरूको पनि कमी छैन । यस्तै सोच राखेर लामो समयदेखि झापाको भद्रपुरमा विभिन्न उद्यम गरिरहेका युवाहरू हुन्— भद्रपुर निवासी राज वन र एमबी गिरी । यी दुई युवाको संयुक्त लगानीमा भद्रपुर–८ मा होटेल डेग्लोसँगै अन्य व्यवसाय पनि संयुक्त रुपमा सञ्चालन भइरहेको छ ।
यसैक्रममा, आधुनिक होटेल व्यवसायमा ‘डे–ग्लो’लाई ‘ब्रान्ड’ बनाइसकेका यी दुई युवाले संयुक्त लगानीमै सम्भवतः पूर्व क्षेत्रकै सर्वाधिक ठुलो र अत्याधुनिक ब्याङ्केट सञ्चालनमा ल्याएका छन् । भद्रपुर–८ सगरमाथा चोकमा रहेको होटेल ‘डे–ग्लो’ परिसरभित्रै निर्माण गरिएको ब्याङ्केट शनिबारदेखि सञ्चालनमा आएको छ । र, ‘डे–ग्लो’को परिचयलाई थप मजबुत बनाउँदै उनीहरूले ब्याङ्केटको नाम पनि ‘डे–ग्लो’ नै राखेका छन् । ब्याङ्केट परिसर १४ कट्ठा क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ १२ सय जना आरामले आँट्न सक्ने हल निर्माण गरिएको छ ।
‘हामीले इटहरीयता पूर्वका प्रायः सबै ब्याङ्केट हेरेर आयौँ’,' सञ्चालक राज वनले भने, ‘यति ठुलो ब्याङ्केट कतै देखेनौँ ।’ वर्तमान आधुनिक समयको माग र आवश्यकतालाई ध्यानमा राखेर ब्याङ्केट निर्माण गरिएको उनले बताए । ब्याङ्केटमा अत्याधुनिक लाइटिङ, उत्कृष्ट साउन्ड सिस्टम अनि पर्याप्त क्षमताको एसी जडान गरिएको सञ्चालक वनको भनाइ छ ।
हलसँगै जोडिएका चेन्जिङ रुमहरू पनि रहेको उनले बताए । उनले जस्तोसुकै गर्मीमा पनि कार्यक्रम गर्न सक्ने गरिएको एसी जडान गरिएको बताए । अनावश्यक ध्वनि प्रदूषण नियन्त्रण गर्न सक्ने आधुनिक र महँगो साउन्ड सिस्टम पनि जडान गरिएको बताउँदै उनले हललाई थप आकर्षक बनाउन लाइटिङको उत्कृष्ट संयोजन गरिएको पनि बताए । ब्याङ्केट निर्माणमा दुई करोड रुपैयाँ लगानी भइसकेको वनले जानकारी दिए
अब जस्तोसुकै ठुलो सभा–समारोह वा कार्यक्रम गर्नुपर्दा अन्यत्र धाइरहनु नपर्ने अर्का सञ्चालक एमबी गिरीले बताए । ‘१२ सय मान्छे एउटै हलभित्र अटाउन सक्ने गरी यो ब्याङ्केट तयार भएको छ’, उनले भने , ‘जत्रो सुकै कार्यक्रम गर्न–गराउन हामी सक्षम छौँ ।’
खाडी मुलुक युएईमा होटेल क्षेत्रमै करिब पाँच वर्ष काम गरेर फर्किएका वन र गिरीले त्यहाँको अनुभवलाई पनि होटेल ‘डे–ग्लो’ सञ्चालनका क्रममा उपयोग गरेका छन् । झापाकै पनि कतिपय ठुला होटेलमा उपलब्ध हुन नसकेका खानाका परिकारहरू होटेल डे–ग्लोमा उपलब्ध हुने सञ्चालक वनको भनाइ छ ।
‘विदेशमा आकर्षक कमाइ छोडेर हामी दुवै जना आफ्नै देशमा, आफ्नै ठाउँमा केही गर्नुपर्छ र आफूलाई समाजमा स्थापित गराउनुपर्छ भन्ने सोचेर फर्कियौँ र यो व्यवसाय सुरु गर्यौँ’,' उनले भने, ‘भद्रपुर जस्तो सानो ठाउँमा यत्ति धेरै लगानीमा व्यवसाय गर्नु चुनौतीपूर्ण त छ तर हामी हाम्रो मेहनत र कामप्रति विश्वस्त छौँ ।’ उनले ब्याङ्केट निर्माणसँगै होटेल डेग्लोको पनि स्तरोन्नति गरिएको बताए । होटेलमा १४ वटा अन्तर्राष्ट्रियस्तरको डिलक्स कोठा निर्माण भइरहेको र तीन महिनाभित्र सञ्चालनमा ल्याइने उनले बताए । होटलले २४ सै घण्टा सेवा दिने पनि उनको भनाइ छ ।
उनीहरूको लगानीमा होटलकै परिसरभित्र फिटनेस सेन्टर पनि सञ्चालन गरिरहेका छन् भने इलेकट्रोनिक्स र फेसन हाउस पनि सञ्चालनमा छ । त्यसैगरी, भद्रपुर–५ स्थित बसपार्कछेउ होटेल डे–ग्लो इन सञ्चालनमा छ । त्यहाँ पनि आरामदायी २४ वटा डिलक्स रुम उपलब्ध रहेको सञ्चालक गिरीले बताए ।
यी सबै व्यवसायमा लगभग ८ करोड रुपैयाँ लगानी भएको सञ्चालक वनले जानकारी दिए । ।