इलाम-२ उपनिर्वाचन : ६० प्रतिशत मत खस्यो (विवरण सहित)
इलाम क्षेत्र-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
इलाममा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।
यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए । ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए । अब मतपेटिका ल्याउनेक्रम सुरु भएको उनको भनाइ छ ।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गरेका थिए । एमाले र कांग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
