२०८३ बैशाख ७ गते , सोमबार

‘रोनाल्डो’ ३३ सन्तानको बाबु !

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २२ गते , शनिबार
‘रोनाल्डो’ ३३ सन्तानको बाबु !

चितवनको खोरसोर सौराहामा जोखिम मोलेरै हात्ती प्रजनन गराउने गरिएको छ । यो नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र हो । घरपालुवा मत्ता (भाले हात्ती) नहुँदा जङ्गली मत्ताको भर पर्दा जोखिम भएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरी जङ्गली हात्ती त्यसै पनि जोखिम हुने भन्दै झन् सहवासका बेला मत्ता मात्तिने भएका कारण अझ बढी जोखिम हुने बताए । “जङ्गली हात्तीसँग त जोगिनै प¥यो नि । सामान्य त्रुटि भयो भने ज्यानै जान सक्छ,” उनले भने । 

केन्द्रका कर्मचारीबिच ज्वाईं राजाको नामले चिनिने रोनाल्डोले मात्रै १६ वर्षको अन्तरालमा २२ जनाको ज्यान लिएको छ । रोनाल्डो जङ्गली मत्ता हो । प्रजनन केन्द्रमा नियमित आइरहने धुव्रे हात्तीले १८ जना र गोविन्दे हात्तीले तीन जनाको ज्यान लिइसकेको छ । 

“प्रजनन केन्द्र घुम्न आउने पर्यटकदेखि निकुञ्ज सुरक्षाकर्मी र स्थानीय बासिन्दाको ज्यान जङ्गली हात्तीले लिएका छन्,” उनले भने, “हात्तीले त्यसै त आक्रमण गर्दैन । ऊ रिसाएका बेला वा उसका अगाडि पर्‍यो भने आक्रमण गरिहाल्छ ।” 

२०५७ सालमा जङ्गली हात्तीको आक्रमणबाट प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद हात्ती मरेको थियो । यसपछि ऐरावतगज र शेरप्रसादलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर मारिदिए । त्यसपछि प्रजनन केन्द्रमा घरपालुवा मत्ता राख्न छाडियो । घरपालुवा मत्ता नभएसँगै केन्द्रमा रहेका ढोईलाई रोनाल्डो, गोविन्दे, धुव्रेजस्ता जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था रहँदै आएको छ । 

हात्तीको सन्तान वृद्धिका सन्दर्भमा यीमध्ये रोनाल्डोले प्रजनन केन्द्रलाई भरपूर सहयोग गर्दै आएको छ । रोनाल्डोले ‘कन्जरभेसन कूटनीति’ अन्तर्गत नेपालले कतारलाई उपहार दिन लागेका रुद्रकली र खगेन्द्रप्रसादजस्ता धेरै हात्ती जन्माएर वंश वृद्धिमा प्रजनन केन्द्रलाई सहयोग पु¥याएको छ । केन्द्रका प्रमुख चौधरीका अनुसार २७ वर्षयता प्रजनन केन्द्रमा जन्मिएका ६२ हात्तीमध्ये ३३ वटा त रोनाल्डोकै सन्तान हुन् । 

भारतसँग १६ वटा, म्यानमार र थाइल्यान्डसँग दुई दुई वटा हात्ती उपहार लिएर २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालदेखि सन्तान वृद्धि गराउन थालिएको हो । हात्तीको सन्तान वृद्धिमा सहयोग पुगेकाले नै प्रजनन केन्द्रका कर्मचारीले जोखिम मोलेर पनि रोनाल्डोलाई माया गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार