मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि
सरकारले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको घोषणा गरेका हुन्। सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।
अर्थमन्त्री मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशस् अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने घोषणा गरे। वार्षिक २५ करोडभन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिने उनको भनाई छ।
उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी आगामी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।
यसैगरी मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्याएको पुनले जानकारी गराए। उनले कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको उद्घोष गरे।