इँटाभट्टा उद्योगसामु कचनकवल गाउँपालिका लाचार, ६ वर्षदेखिको कर उठाउन सकेनन्
कचनकवल । जथाभाबी खेतीयोग्य जमिन दोहन गर्दै आइरहेको दक्षिणी झापाको कचनकवलका इँटाभट्टा उद्योगहरूलाई गाउँपालिकाले करको दायरामा ल्याउन नसकेको पाइएको छ । इँटाभट्टा उद्योग सञ्चालकहरूले लामो समयदेखि पालिकालाई कर नबुझाउँदा पनि जनप्रतिनिधि र कर्मचारी त्यसप्रति खासै चासो देखाएको छैन । गाउँपालिका इँटाभट्टा सञ्चालकहरूसामु लाचार देखिएको छ ।
गाउँपालिकाको विभिन्न वर्षका आर्थिक ऐनमा इँटाभट्टालाई तोकिएको दरमा कर लगाई असुल उपर गरिने उल्लेख छ । तोकिएको दरमा कर भुक्तानी दिने तथा असुल गर्ने दुवै पक्षको कर्तव्य तथा दायित्व रहन्छ । तर, गाउँपालिकाभित्र सञ्चालित तीन वटा इँटा उद्योगले २ लाख ४५ हजार रुपैयाँ गाउँपालिकालाई तिर्नुपर्ने रकम बक्यौता देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरेको छ । गाउँपालिकाले बक्यौता रकममा आर्थिक ऐन अनुसार जरिवानासमेत असुल उपर गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार चण्डी इँटाभट्टाले २०७५/७६ को १५ हजार, ०७६/०७७ देखि ०७८/०७९ चार वर्षको वार्षिक २५ हजारको दरले एक लाख रुपैयाँ र ०७९/८० को ३५ हजार गरी जम्मा १ लाख ५० हजार तिर्न बाँकी देखिएको छ ।
त्यस्तै स्टार इँटाभट्टाले ०७८/७९ को २५ हजार र ०७९/८० को ३५ हजार गरी ६० हजार तिर्न बाकी देखिएकोमा एसआईबी इँटाभट्टा (एक चिम्नीको बाँकी) ०७९।८० को ३५ हजार गाउँपालिकालाई तिर्नु पर्ने उल्लेख छ ।