भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, बजेट ९९ करोड
भद्रपुर । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
आइतबार भद्रपुर नगरपालिकाको १४ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्षकै हाराहारीको बजेट प्रस्तुत गरेकी छिन् । चालु आर्थिक २०८०/०८१ मा वर्षमा ९८ करोड ३१ लाख ४६ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष ७ लाख ७३ हजार बढाएर अनुमानित बजेट ल्याएको हो । आगामी अनुमानित बजेटमा आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३३ हजार, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख ४६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५५ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १४ करोड ४७ लाख र पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख ५४ हजार गरी ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट नगर उपप्रमुख कार्कीले प्रस्तुत गरेकी छिन् ।

अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ७ करोड, राजस्व बाँडफाँडतर्फ सङ्घबाट १३ करोड १९ लाख, प्रदेशबाट ८५ लाख, स्थानीयबाट ३ करोड ७५ लाख गरी राजस्व बाँडफाँडबाट जम्मा १७ करोड ७९ लाख , सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १८ करोड ९४ लाख, शसर्त अनुदान चालुबाट २९ करोड ४९ लाख ५५ हजार , सशर्त अनुदान पुँजीगतबाट ४ करोड ७६ लाख ६० हजार, समपूरक अनुदानबाट २ करोड १० लाख, विशेष अनुदानबाट ३ करोड गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ५८ करोड ३० लाख १५ हजार रहेको उनले बताइन् ।
त्यस्तै नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवर्द्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।