भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन हुँदै
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालनका लागि नगरपालिका र करुणा फाउन्डेसन नेपालबीच सम्झौता भएको छ ।
भद्रपुर नगरपालिकाको सभा हलमा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरपालिका र फाउन्डेसनबिच अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र फाउन्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटाले हस्ताक्षर गरेका हुन् । करुणा फाउन्डेसन, कोसी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ कोसी प्रदेशको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमका लागि भद्रपुरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ८९ लाख ५८ हजार ५५० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । तीन वर्ष यस कार्यक्रममा २ करोड २२ लाख ६५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।
पछिल्लो राष्ट्रिय जनगणना अनुसार भद्रपुरमा १६३१ जना अपाङ्गता भएका व्यक्ति रहेकोमा नगरपालिकामा ५९२ जना मात्र सूचीकृत छन् ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात् नगर प्रमुख पोखरेलले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई परिणाम निकाल्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘हामी सबै लाग्यौँ भने सफलता अवश्य मिल्छ’, उनले भने, ‘जनस्तरसम्म पुगेर यो कार्यक्रमलाई सफल बनाउन सबै लाग्नुपर्छ ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले यस कार्यक्रमको उद्देश्य अनुसारको काम गर्नमा जोड दिइन् । उनले पहुँचका कमिले कतिपय अपाङ्गता भएका व्यक्तिहरू नगरपालिकामा आएर आफ्नो परिचय पत्र नबनाएकोले उनीहरूलाई पनि राज्यले प्रदान गर्ने सेवा सुविधाभित्र ल्याउनु पर्ने बताइन् ।
त्यस्तै फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले न्यूनतम लागतमा अपाङ्ग हुनबाट जोगाउन सकिने बताए । अपाङ्गता भएका व्यक्तिहरूलाई उत्पादनसँग जोडेर सम्मानजनक वातावरणमा बाँच्न सक्ने बनाउन यो कार्यक्रम उपयोगी रहेको उनको भनाई छ । अपाङ्गता रोकथाम तथा पुनर्स्थापनामा पालिकालाई सक्षम बनाउनका लागि सबै जिम्मेवारी स्थानीय सरकारलाई दिएको उनले बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य मदन बोहोराले अपाङ्गता भएका मानिसलाई अवसर दिनुपर्नेमा जोड दिए । ‘अपाङ्गता भएका धेरैले अवसर पाउँदा गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्, उनले भने, ‘मात्र उनीहरूलाई अवसर चाहिएको छ ।’
\त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नगरमा आगामी तीन वर्षका लागि अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालनमा आउन लागेको बताए । कार्यक्रमका लागि नगरपालिकाको दुई वर्षसम्म एक तिहाइ र तेस्रो वर्ष ५० प्रतिशत लागत सहभागिता हुने उनले बताए । कार्यक्रममा प्रस्तुतीकरण दिनुहुँदै फाउन्डेसनका योगेन्द्र गिरीले करिब ६० प्रतिशत बालबालिका जन्मदोष लिएर जन्मिने गरेको बताए । ‘जन्मजात अपाङ्गता न्यूनीकरण गर्नु र उनीहरूलाई समाजमा पुनर्स्थापित गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो’, उनले भने, ‘यो कार्यक्रमले नगरका एक चौथाइ नगरवासी लाभान्वित हुने अनुमान छ ।’ नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउतले सञ्चालन गरेकी कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष हंशधर राजवंशी, वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, प्रशासन शाखा प्रमुख खेमराज प्रसाईँ लगायतका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको फाउन्डेसनका पालिका संयोजक अञ्जना लामिछानेले जानकारी दिइन् ।