२०८३ बैशाख ४ गते , शुक्रबार

झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

sajilo news
झापा
२०८१ असार २८ गते , शुक्रबार
झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

झापालाई १६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवाको निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बीच झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे । उनले असार ३० गते सिङ्गो कोशी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना प्रदेश घोषणा गरिने बताए । स्वास्थ्य मन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई उच्च मूल्याङ्कन गरेको दाबी गरे ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबै १५ वटा स्थानीय तहका १३१ वटै वडामा घरधुरी सर्वेक्षण गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि १५ महिना मुनिका १५ हजार ६ सय ९३ जना , १६ महिनादेखि ५९ महिनासम्मका ३९ हजार ४ सय ८८ जना र छुटेका ६३४ जना बालबालिकालाई खोप लगाइएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । सबै बालबालिकाहरूले जन्मपश्चात् पाउनुपर्ने सबै खोपहरू पाएको सुनिश्चित गर्न हरेक वर्ष पुस महिनादेखि सुरु भई झापा जिल्लाका सबै स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेविकाहरू घरघरमा गएर ५ वर्षसम्मका खोप लगाउन छुट बालबालिकाहरूको खोजी गरी भेटिएका सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाउने कार्य गरी जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति झापाको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा भएको घोषणा कार्यक्रममा जिल्लामा खोपको अवस्थाबारे जिल्ला खोप समन्वय समितिका सदस्य सचिव बाह्रकोटीले प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षता तथा स्वास्थ्य मन्त्री कार्कीको प्रमुख आतिथ्य भएको कार्यक्रममा ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश पाएका २६ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्र र नगदसहित बिदाइ गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरूका तर्फबाट गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवर , बिदाइ हुने स्वास्थ्य स्वयंसेविकामध्येबाट भद्रपुर ६ की देशमाया विष्टलगायतले बोलेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई, झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मिलन के.सी.,झापा जिल्ला अनुसन्धान प्रमुख कुलचन्द्र नेपाल, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार