२०८३ बैशाख ४ गते , शुक्रबार

प्रादेशिक अस्पताल भद्रपुरमा एचआइभी संक्रमितका लागि अब सबै सुविधा

sajilo news
झापा
२०८१ श्रावण ४ गते , शुक्रबार
प्रादेशिक अस्पताल भद्रपुरमा एचआइभी संक्रमितका लागि अब सबै सुविधा

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी केन्द्रमा उपचार गराइरहेका एचआइभी सङ्क्रमितहरूले अब सबै किसिमका सुविधा पाउने भएका छन् । औषधि उपचारदेखि लिएर यातायात , खाजा ,कुरुवालाई खाजा , बाहिर पठाउँदा एम्बुलेन्स ,आइसियु , प्रयोगशाला खर्चलगायतका सेवा सुविधा एचआइभी सङ्क्रमितहरूले पाउने भएका हुन् । ए.एच.एफ नेपालले सहकार्य सुरु गरेपछि ती सुविधाहरू बिरामीहरूलाई उपलब्ध गराइने भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा एआरटी सेवालाई थप सहज र गुणस्तरीय बनाउन ए.एच.फले आजदेखि तीन वर्षसम्मका लागि सहकार्य थालेको हो । जुन कार्यक्रमको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, जिल्ला समन्वय समितिका प्रमुख विश्व बराल , प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रादेशिक अस्पतालमा सन् २०२७ सम्म काम गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको ए.एच.फले एचआइभी सङ्क्रमितहरूको उपचारमा सहयोग गर्ने जनाइएको छ । एचआइभी सङ्क्रमितहरूका लागि जीवन लम्ब्याउन दिइने उपचार सेवा (एआरटी) लाई गुणस्तरीय बनाउँदै बिरामीहरूको सुविधामा ए.एच.फले सहयोग गर्ने ए.एच.एफ.का मार्केटिङ को–अर्डिनेटर राधेश्याम श्रेष्ठले बताए ।

प्रादेशिक अस्पतालमा सन् २००७ देखि एआरटीको सेवा सञ्चालन भइरहेको थियो । सो सेवालाई प्रभावकारी बनाउँदै संक्रमित बिरामीहरूलाई औषधि उपचार खर्चदेखि खाद्यान्न, यातायात खर्चसम्म सहयोग गर्ने ए.एच.फले जनाएको छ । ए.एच.फले प्रादेशिक अस्पताललाई १ जना जनशक्तिसमेत उपलब्ध गराएको छ ।
सन् २०३० सम्म एचआइभी निर्मूल गर्ने रणनीति अनुसार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । एचआइभी सङ्क्रमितहरूले नियमित औषधि सेवन गरेमा अन्य नागरिकमा समेत नफैलिने बताइएको छ ।एआरटी शाखाकी फोका पर्सन कञ्चन नेपालीले प्रादेशिक अस्पतालमा २००७ देखि औषधि वितरण भइरहेको जानकारी दिइन् । उनले अस्पतालमा जाँच गरेका र औषधि सेवन गरिरहेकाहरूको विवरण समेत सार्वजनिक गरेकी थिइन् ।
अस्पतालको विवरण अनुसार झापामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या हेर्ने हो भने २३२ पुरुष, २१४ महिला र १८ जना १५ वर्ष मुनिका बालबालिकाहरू रहेका छन् । ९८ जना उपचारका लागि नआएको बताइएको छ । फोका पर्सन नेपालीले एआरटी सेवाका लागि २४५ जनाले स्थानान्तरण गरेको र ७८ जनाको मृत्यु भइसकेको जानकारी दिइन् ।
सेवा प्रारम्भ गर्ने कार्यक्रममा ए.एच.एफ नेपालका तर्फबाट राधेश्याम श्रेष्ठले संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रमबारे जानकारी गराएका थिए ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले एचआइभी सङ्क्रमितहरूलाई विभेद गर्न नहुने बताए । उनले संक्रमितहरु पनि आफूजस्तै नागरिक सम्झिएर उपचार गर्न निर्देशन दिए । डा . शर्माले सङ्क्रमितहरूको चित्कारलाई स्वास्थ्यकर्मीले विना भेदभाव उपचार सेवा प्रदान गर्नुपर्ने बताए ।

हरेक दिन एक जना नयाँ संक्रमित फेला पर्ने र एक जनाको मृत्यु हुने गरेको उनको भनाई छ । उपचारका सन्दर्भमा उठेका जिज्ञासा तथा सवालहरूका बारेमा डा.शर्माले सहजीकरण गरेका थिए । ए.एच.एफका प्रमुख दिव्यराज जोशीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा अस्पतालका निमित्त मेसु डा.रामबाबु खड्काले एआरटी सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार