२०८३ बैशाख ४ गते , शुक्रबार

बन्ला त अब बिर्तामोड शहरमा सार्वजनिक शौचालय ? जग्गा पहिचान गर्न समिति गठन

sajilo news
झापा
२०८१ श्रावण १५ गते , मंगलबार
बन्ला त अब बिर्तामोड शहरमा सार्वजनिक शौचालय ? जग्गा पहिचान गर्न समिति गठन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईँ, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरिएको हो। आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरी प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको नगर प्रमुख प्रसाईँले जानकारी दिइन् । बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु गम्भीर रहेको बताउँदै उनले अब प्रक्रिया अघि बढाएको जानकारी दिइन् । 

नगरका प्रवक्ता तथा समितिका संयोजक अग्निप्रसाद पाण्डेले सरकारी अथवा कुनै दाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताए । उनले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्ने गरी आजैदेखि अघि बढ्ने बताए ।  नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि सङ्घीय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

सम्बन्धित समाचार