२०८३ बैशाख १० गते , विहीबार

खाताबाट रकम गायब प्रकरण : प्रभु बैंकले भन्यो- मुद्दती रसिददेखि स्टेटमेन्टसम्म नक्कली

sajilo news
झापा
२०८१ श्रावण २० गते , आईतबार
खाताबाट रकम गायब प्रकरण : प्रभु बैंकले भन्यो- मुद्दती रसिददेखि स्टेटमेन्टसम्म नक्कली

झापा । पत्रकार टीकाराम नेतीकी श्रीमती मन्जुकुमारी नेपालले आधिकारिक रुपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रभु बैंकको बिर्तामोड शाखा कार्यालयका निक्षेपकर्ता नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको ब्यहोरा प्रारम्भिक रुपमा देखिन आएको जनाएका छन् ।

उनले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको बताएका छन् । आवश्यक छानबिन तथा प्रचलित कानुनबमोजिमको कारबाईपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरेका छन् ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका सञ्चालकसमेत रहेका नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दाबी गरेका थिए । उनले आफ्नी श्रीमती मन्जुकुमारी नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । नेतीले बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका थिए । सिटौला फरार रहेका छन् ।

 

 

सम्बन्धित समाचार