२०८३ बैशाख १० गते , विहीबार

झापामा सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे १२ लाखको लत्ताकपडा

sajilo news
पार्थ मण्डल
२०८१ श्रावण २२ गते , मंगलबार
झापामा सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे १२ लाखको लत्ताकपडा

झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राएको अन्दाजी साढे १२ लाख बराबरको लत्ताकपडा बरामद गरेको छ । 
सशस्त्र प्रहरीले बुद्धशान्ति र मेचीनगरबाट सो मुल्य बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन  पोखरेलले जानकारी दिए । 
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले आज मंगलबार साँझ ७ः१० बजेको समयमा बुद्धशान्ति गाउँपालिका–७ स्थित सुनमाई चिया बगानभित्र लुकाइछिपाई राखेको अवस्थामा ८ पोका कपडा बरामद गरेको हो ।  अन्दाजी १० लाख मुल्य बराबरको लत्ताकपडा इलाम र झापा जोडिएको सीमावर्ती नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राई सो स्थानमा ल्याएर भण्डारण गरी राखिएको थियो । 
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले आजै साँझ साढे ७ बजेको समयमा मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट अन्दाजी दुई लाख ५० हजार मुल्य बराबरको कपडा बरामद गरेको डीएसपी पोखरेलले बताए । सो सामान पनि भारतबाट भन्सार छलेर नेपाल भित्राएको थियो । 
बरामद गरिएको सामानहरूमा कुर्ता सुरुवाल, लेडिज पेन्ट, ल्याङ्घा, गन्जी लगायतका सामान रहेको छ । बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।   
 

सम्बन्धित समाचार