मेचीनगरले सञ्चालनमा ल्यायो नगर आधारभूत अस्पताल
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिइरहेको छ । नगरको पन्ध्र वटै वडामा यस अघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडावासीलाई वडामा स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्तरवृद्धि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ ।
मेचीनगर १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप विशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उद्देश्यले नगरपालिका लागि रहेको बताउँदै उनले भने ४ जना एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन गरिएको उक्त अस्पतालबाट अब नगरका सबै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने छन् ।
मानिसको स्वास्थ्य एकदमै संवेदनशील विषय हो । समयमा उपचार नपाउँदा नागरिकको ज्यान तलमाथि हुन सक्ने भएको हुँदा नगरपालिकाले सबैको सहज पहुँचको लागि धुलाबारीमा विशेषज्ञ डाक्टरहरूबाट इमर्जेन्सी सेवासहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाइ छ ।
यसअघि एक जना मेडिकल अधिकृत (एमबिबिएस) सहित प्रसूति सेवा, भिडियो एक्सरेलगायतका स्वास्थ्य सेवा प्रदान भइरहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आजबाट थप सुविधा सहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् ।
नगर अस्पताल सञ्चालन हुनु नगरवासीको लागि एकदमै खुसीको कुरा हो । यसलाई सफल बनाउन नगरपालिकाका जनप्रतिनिधिसङै स्वास्थ्यकर्मी, कर्मचारी र आम नागरिक सबै आफ्नोतर्फबाट लाग्नुपर्ने बताए । साथै उनले अहिले सुरुवाती चरण भएकाले नगर अस्पतालमा सुविधा पर्याप्त नहुन सक्छ त्यसलाई क्रमशः विस्तार गरिँदै लैजाने बताए ।
नगर आधारभूत अस्पताल धुलाबारीमा अब ४ जना एमबिबिएस डाक्टर सहित इमर्जेन्सी सेवा, चौबीसै घण्टा प्रसूति सेवा, भिडियो एकसरे सेवा, इसीजी सेवासँगै आफ्नै फार्मेसी सेवा समेत उपलब्ध हुने छ ।