२०८३ बैशाख १० गते , विहीबार

काँकडभिट्टा–लौकही ‘एसियन हाइवे’ निर्माण कार्य तीब्र गतिमा

sajilo news
झापा
२०८१ भाद्र ६ गते , विहीबार
काँकडभिट्टा–लौकही ‘एसियन हाइवे’ निर्माण कार्य तीब्र गतिमा

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तीव्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नति कार्य अगाडी बढेको हो ।

‘दुई लेन’ सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तर वृद्धि गर्दै एसियन हाइवेको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुखहरू कटान यसअघि नै सकिएको छ । योसँगै यति बेला सडकको नयाँ ट्र्याक बनाउनेदेखि कल्भर्टहरू निर्माण गर्ने कार्य धमाधम अगाडी बढिरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न हुनेगरी रुख कटान सम्पन्न भएसँगै अहिले सडक विस्तारको काम सुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।

‘दुई लेनको पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियन हाइवेमा रूपान्तरण हुनेमा सर्वसाधारण आशावादी रहेको बताउँछन् । साँघुरो सडकले सकस भइरहेको अहिलेको अवस्थालाई एसियन हाइवे निर्माण भए पश्चात् सहज हुने अपेक्षा उनीहरूको छ । त्यस्तै सडक बिस्तारसँगै स्थानीय स्तरदेखि स्वदेश तथा एसियाली राष्ट्रहरूसँगको व्यापारमा पनि थप सहजता मिल्ने व्यवसायीहरू बताउँछन् ।

स्थानीय ओमप्रकाश खापुङ एसियन आइवे बन्नु सारा नेपालीको लागि सुखीको कुरा रहेको बताउँछन् । उनी भन्छन्, ‘हामी पूर्वी सीमानामा भएका हामी यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने छौँ । यो सडक हामीले सोचेभन्दा चाँडो बनिरहेको छ । झापामा तीव्र रूपले बढिरहेको सवारी चाँपले सडकहरू अस्तव्यस्त बनेका छन् । यस सडकले अस्तव्यस्त सडकलाई व्यवस्थित बनाउने छ ।’

व्यवसायी केशवराज पाण्डे यस सडकले व्यवसायको क्षेत्रमा ठुलो टेवा पु¥याउने बताउँछन् । उनले सडक सहज र व्यवस्थित हुँदा व्यापार व्यवसाय गर्न सहज हुने बताए ।

एसियाली विकास बैंकको युएसडी ३०० मिलियन तथा नेपाल सरकारको युएसडी ६२.४७ मिलियनको लागतमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक मध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नति कार्य अगाडी बढेको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ । ३४ अर्ब ९१ करोडको लागतमा निर्माण सम्पन्न हुनेगरी ठेका लागि चार लेनको काम अघि बढेको सडक आयोजना अहिलेसम्म ५.५ प्रतिशत कार्य प्रगति भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने काँकडभिट्टा–लौकही सडक योजनाका इन्जिनियर आश्रय महतले बताए ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । सुविधा सम्पन्न फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार