दमक अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री
दमक । दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन् । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट रु ३० लाख मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ ।
दमक अस्पतालको सेवा विस्तारमा सघाउ पु–याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण शाहले जानकारी दिए । उनले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार यसरी प्राप्त स्वास्थ्य उपकरणमा १० वटा बेड, एउटा भिडियो एक्स-रे मेसिन, एउटा डेलिभरी बेड, एक शव परीक्षण सेट, सक्सन मेसिन एक सेट, इसिजी थ्रि डिजिटको एक सेट, इनटी अप्रेसन एक सेट, सिटिजी कार्डियोग्राफी मेसिन एक सेटलगायत छन् । विसं २०७३ देखि सञ्चालनमा आएको यस सरकारी अस्पतालमा दैनिक पाँच सय हाराहारीमा बिरामीले स्वास्थ्योपचार सेवा पाउँदै आएका छन् ।