श्रीकृष्ण जन्माष्टमी : भद्रपुरमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा
भद्रपुर । परापूर्वकालदेखि श्रीकृष्ण जन्माष्टमीका दिन भद्रपुरमा स्वतफुर्त रुपमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा भएको छ ।भद्रपुर-५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा भोलि सोमबार जन्माष्टमीका दिन लाग्ने धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष धूमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाउन लागेको समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए ।
लक्ष्मीनारायण मन्दिरलाई बेहुली झैँ सिँगारिएको बताउँदै समितिका अध्यक्ष भारतीले भने, मन्दिरभित्र विभिन्न देवीदेवताको भेसभुसामा बालबालिकालाई राखेर प्रदर्शन गरिन्छ । मन्दिर अगाडी विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिने उनले बताए । भिडभाड नियन्त्रणका लागि मन्दिरमा एकद्धार प्रणाली लागु गरिएको छ । त्यही अनुसार व्यवस्थापन मिलाएको उनले बताए । मन्दिर अगाडिको सडक बिजुली बत्तीले झिलिमिली बनाइएको समितिका सचिव सञ्जय घोषले जानकारी दिए । मन्दिरको प्रवेशद्वारमा भक्तजनहरूको माथि गुलाब जल झर्ने झरना समेत लगाइएको उनको भनाई छ ।
त्यस्तै भक्तजनहरूको सुरक्षा र भिडभाड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसँग समन्वय गरी स्वयंसेवक परिचालन गरिने समितिका कोषाध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । साथै सोमबार बेलुका ५ बजेदेखि भद्रपुर ५ नम्बर वडा कार्यालय अगाडिदेखि भन्सारसम्म जोडने मुख्य बजारको सडकमा सबै प्रकारका सवारीसाधन प्रवेशमा रोक लगाउन प्रहरीलाई आग्रह गरिसकेको उनको भनाई छ ।
त्यसैगरी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मंगलबार निकालिने २२ औं श्रीकृष्ण रथयात्राको तयारी पनि पूरा भइसकेको समितिका अध्यक्ष भारतीले जानकारी दिए । लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो साढे २ बजे पूजाआर्चना गरी रथ निकालिने उनको भनाई छ । यस वर्ष रथयात्राका लागि भारतको फारभिजगञ्जका बोलाएको १४ जनाको टोलीले तान्डव नृत्य समेत प्रस्तुत गरिने जनाइएको छ ।
विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुने समितिका सहसचिव राजेश पकुवालले जानकारी दिए ।