देशभरि डेंगुका विरामीको संख्या ६ हजार नाघ्यो, हैजाका विरामी ७५ जना
देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ।
महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु देखिएको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी छन्।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट निस्केको लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु लाग्छ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा २ हजार ९५४ जनामा डेंगु देखिएको छ।
कोशी प्रदेशमा ७९१ जना, मधेशमा सय जना, बागमतीमा १ हजार ६२३ जना, लुम्बिनीमा ४४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा ३४२ जना डेंगुका विरामी देखिएका छन्।
उपत्यकामा ६८० जना विरामी
काठमाडौँ उपत्यकामा ६८० जनामा डेंगु देखिएको छ। काठमाडौँ जिल्लामा ५११ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा सय जनामा डेंगु देखिएको छ।
वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगु बढेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।
सरकारी अस्पतालमा डेंगुका विरामीका उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
हैजाका विरामी ७५ जना
महाशाखाका अनुसार हैजाका विरामी ७५ जना पुगेका छन्।
महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० जना‚ काठमाडौँमा १० जना, कैलालीमा ८ जना, प्यूठानमा २ जना, मकवानपुर एकजना र रोल्पामा ४ जनामा हैजा पुष्टि भएको छ।
हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिशा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्छ।