२०८३ बैशाख ४ गते , शुक्रबार

फार्मेसीको लापरबाहीले महिलाको मृत्यु, शव राखेर प्रदर्शन

sajilo news
मोरङ
२०८१ भाद्र १८ गते , मंगलबार
फार्मेसीको लापरबाहीले महिलाको मृत्यु, शव राखेर प्रदर्शन

फार्मेसीको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै दीर्घायु लेटाङ फार्मेसी अगाडि शव राखेर प्रदर्शन भएको छ । मोरङको लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायु फार्मेसीमा उपचारका लागि ल्याइएकी महिलाको मंगलबार दिउँसो मृत्यु भएको र उनका आफन्तले शव फार्मेसी अगाडि राखेर प्रदर्शन गरेका हुन् ।
लेटाङ–७ वाराङ्की ३३ वर्षीया गोमा लिम्बू विरामी भएसंगै उपचारका लागि मंगलवार दिउँसो फार्मेसीमा ल्याइएको थियो । फार्मेसीले अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगर रेफर गरेको थियो । विराटनगरतर्फ ल्याउने क्रममा लिम्बूको बाटैमा मृत्यु भएको हो । त्यसपछि शव फर्काएर आफन्तले फार्मेसी भएकै ठाउँमा पुर्‍याएका थिए । उनीहरूले फार्मेसी अगाडि शव राखेर प्रदर्शन गरेका हुन् ।
आफन्त र स्थानीयले फार्मेसीको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए । फार्मेसीले लगाइदिएको गलत इन्जेक्सनका कारण बिरामीको मृत्यु भएको आरोप उनीहरूको छ ।
मृतक गोमाका पति आइतबहादुर लिम्बू वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् । फार्मेसीका सञ्चालक प्रकाश श्रेष्ठले भने प्राथमिक उपचार पनि गर्न नपाईकन बिरामीलाई रेफर गरिएको जानकारी दिए । श्रेष्ठ भने लेटाङ नगर अस्पतालमा कार्यरत सिनियर अहेब हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार