आज चेपाङ समुदायको न्वागी खाने (छोनाम) पर्व
चितवन । चेपाङ समुदायले आज छोनाम (न्वागी खाने) पर्व मनाउँदै छ। चेपाङ समुदायको राष्ट्रिय पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा छोनाम मनाउने चलन छ।
यो पर्वलाई चेपाङ समुदायले नयाँ अन्न खान शुरु गर्ने दिनका रूपमा पनि लिइन्छ। पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यताअनुरूप यो दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाइन्छ।
भदौ २२ गते सामूहिकरूपमा मनाइए पनि कुलअनुसार भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यो दिन कुनै काम नगरी रमाइलो गर्ने चलन छ। कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाइन्छ।
विगतमा जस्तै यो वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। यो पटक गोरखाको गण्डकी गाउँपालिका-६ तोमनडाँडामा भेला भई पर्व मनाउन लागेको उनले बताए। गत वर्ष धादिङ गजुरी गाउँपालिका-५ च्याङ्लीमा भेला भएर न्वागी मनाइएको थियो।
चेपाङ बाहुल्य रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरेको अध्यक्ष चेपाङले जानकारी दिए।
चेपाङको राष्ट्रिय पर्वका अवसरमा बागमती प्रदेश सरकारले २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ।