दुई महिनामा २ खर्ब ३७ अर्बको व्यापार घाटा
झापा । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाखको व्यापार घाटा रहेको छ । चीनसँग भने ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । अधिक व्यापार घाटा रहेका मुलुकमध्ये युद्धग्रस्त देश युक्रेन तेस्रो स्थानमा रहेको छ । युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
चालू आवको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको आयात भएको छ । यसबीचमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । दुई महिनामा १ दशमलव ८ प्रतिशतले आयातमा वृद्धि भएको छ भने निर्यातमा ५ दशमलव १२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको साउन र भदौमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापार घाटा रहेकामा अहिले २ खर्ब ३७ अर्ब पुगेको छ ।
गत वर्षभन्दा यस वर्ष आयातमा सामान्य वृद्धि भएको छ भने निर्यातमा १ अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ । कुल व्यापारको ९१ दशमलव २८ प्रतिशत आयातको हिस्सा रहेको छ भने ८ दशमलव ७२ प्रतिशत रहेको छ ।
कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले विलासितायुक्त सामानमा कडाइ गर्दा आयातमा निरन्तर कमी आएको थियो ।
साउन र भदौमा नेप्से पनि २ हजारबाट ३ हजार बिन्दुमा पुगेपछि पुनः आयातमा वृद्धि भएको छ । विगत २ वर्षदेखि निरन्तर रूपमा आयात व्यापार घट्दै गइरहेकामा भदौ महिनामा आएर वृद्धि भएको हो ।
दसैंलक्षित सामानहरूको आयात बढेका कारण पनि आयातमा सुधार भएको अनुमान रहेको छ । सरकारले भन्सारबिन्दुबाट राजस्व बढाउन भन्सार अधिकृतहरूलाई लक्ष्य तोकेर दबाब दिएका कारणले पनि आयात बढेको भनाइ अर्थविद्हरूको छ ।
यी कारणले गर्दा नै साउन महिनामा आयात शून्य दशमलव ६७, निर्यात ९ दशमलव ६३ र समग्र व्यापार १ दशमलव ५२ प्रतिशतले घटेको थियो । भदौमा आयात व्यापार १ दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।
निर्यातमा आएको कमी साउनको तुलनामा घटेको छ । साउनमा मात्रै निर्यातमा ९ दशमलव ६३ प्रतिशतले कमी आएकामा साउन र भदौको जम्मा निर्यातमा भने ५ दशमलव १२ प्रतिशतले मात्रै कमी आएको छ ।
नेपालले दुई महिनाको अवधिमा १ सय २३ वटा राष्ट्रसँग व्यापार भएको तथ्यांक रहेको छ । जसमध्ये २२ वटा देशसँग मात्रै व्यापार नाफा रहेको छ । १ सय १ वटा मुलुकसँग भने व्यापार घाटा रहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।