२०८३ बैशाख ७ गते , सोमबार

सानो पाथीभरा मन्दिरमा १९ औं भण्डाराको तयारी

sajilo news
झापा
२०८१ आश्विन १४ गते , सोमबार
सानो पाथीभरा मन्दिरमा १९ औं भण्डाराको तयारी

इलामको रोङ गाउँपालिका, कुटीडाँडास्थित पाथीभरा मन्दिरमा यस वर्ष पनि भण्डाराको तयारी गरिएको छ । हरेक वर्ष बडादशैं र चैते दशैंमा झापा बिर्तामोडका व्यवसायीहरूको समूह पाथीभरा भण्डारा समितिले सामाजिक सेवाकार्यअन्तर्गत लगाउँदै आएको भण्डारा यस वर्ष यही असोज १९ गते तृतीया तिथिमा लगाइने समितिका संयोजक तथा चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । पाथीभरामा यो १९ औं भण्डारा हुनेछ । त्यसका लागि आवश्यक तयारी भइरहेको बिर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालकसमेत रहेका अग्रवालले जानकारी दिए ।

‘सानो पाथीभरा’ नामले प्रख्यात इलामको पाथीभरा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पनि सामाजिक सेवाकार्यअन्तर्गत नै पाथीभरा भण्डारा समितिले विभिन्न भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको छ । निकै डाँडामा रहेको मन्दिर पसिरसम्म खानेपानी पुर्‍याउन समितिले सहयोग गरेको बताउँदै अग्रवालले व्यवसायीहरूकै सहयोगमा भरखरै मन्दिर परिसरमा पेवर्स–ब्लक बिछ्याएर भक्तजनलाई आवत–जावतामा सहजता प्रदान गरेको जानकारी दिए । यस्तै, मन्दिरको थप जीर्णोद्धार गर्नुपर्ने देखिएकोले त्यसका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

यस वर्ष पनि पाथीभरा माताको दर्शन गर्न आउने सम्पूर्ण भक्तजनलाई भण्डाराबाट प्रसाद तथा पानी वितरणको कार्यक्रम राखिएको जानकारी दिँदै अग्रवालले महान् पर्व बडादशैंमा पाथीभरा माताको दर्शन गरी पुण्य लाभ गर्नुका साथै आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

 

 

सम्बन्धित समाचार